एसिया कपको तयारीमा रहेको नेपाली सिनियर क्रिकेट टोली बुधबार अभ्यास खेलमा श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्ड क्रिकेट एथ्लेटिकसँग ६ विकेटले पराजित भएको छ । श्रीलंका र पाकिस्तानमा आयोजना हुने एसिया कपको तयारीमा नेपाल १५ दिनको विशेष प्रशिक्षणमा कोलम्बोमा छ । सोमपाल कामीको कप्तानीमा नेपालले श्रीलंकाली स्थानीय क्लबविरुद्ध खेलेको हो । नेपालले शुक्रबार दोस्रो अभ्यास खेलमा तमिल युनियनसँग खेल्नेछ ।
पहिलो ब्याटिङ गरेको नेपालले ४३.४ ओभरमा सबै विकेट गुमाएर एक सय ९७ रन मात्र बनाएको थियो । ब्लुमफिल्डले २४.३ ओभरमा चार विकेटको क्षतिमा जित निकाल्यो । ब्लुमफिल्डका दुई खेलाडीले अर्धशतक बनाए । हसिता बोयागोडाले आक्रामक ब्याटिङ गर्दै ९० रनको इनिङ्स खेले । प्रतिश जिसीको बलमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट हुनुअघि उनले ५३ बलमा सात चौका र सात छक्का हिर्काएका थिए ।
एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नुअघि श्रीलंकामा विशेष प्रशिक्षण गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्थानीय क्लबसँग ६ विकेटले पराजित
अशान फेनान्डोले ५४ बलमा ६ चौका र दुई छक्कासहित ५६ रनको योगदान गरे । ओपनर सानदुन विराकोडीले २२ बलमा पाँच चौका र एक छक्कासहित ३१ रन जोडे । नेपालका स्पिनर सूर्य तामाङ र प्रतिशले समान दुई विकेट लिए । सूर्यले ६ ओभरमा १ मेडनसहित १७ रन तथा प्रतिशले ४ ओभरमा २४ रन खर्चिएका थिए ।
चलेन नेपालको ब्याटिङ
एकपटक फेरि श्रीलंकामा नेपाली खेलाडीको ब्याटिङ चल्न सकेन । मध्यक्रम र तल्लो क्रमका ब्याट्सम्यान चल्न नसकेको इनिङ्समा नेपालका ओपनर अर्जुनले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले सर्वाधिक ७९ रन बनाउन १ सय १३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर देव खनालले ३४ बलमा २२ रन बनाए । पहिलो विकेटका लागि देव र अर्जुनले ३८ रनको साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि गुल्सन झा र अर्जुनबीच ३७ रनको साझेदारी भएको थियो । गुल्सनले २५ बलमा ९ रन मात्रै बनाए । सन्दीप जोराले २७ बलमा २ चौका र १ छक्कासहित ३१ रनको योगदान गरे ।