जिल्ला अदालत सप्तरीको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएका राजविराजका रूपेशकुमार रामलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । भाइबुहारी बबिता इसरलाई बेपत्ता बनाएको अभियोग उनीमाथि लागेको छ । आफ्नै श्रीमती बेपत्ता पारेको अभियोगमा बबिताका श्रीमान् अर्थात् रूपेशका भाइ मनोज रामलाई पनि सप्तरी अदालतले थुनामा पठाएकोमा सर्वोच्चले ३१ असारमै थुनामुक्त गर्न आदेश दिएको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले रूपेशका हकमा अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकर निवेदक रहेको बन्दी प्रत्यक्षीकरणको रिट मंगलबार जारी गरेको हो । रूपेशलाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको संयुक्त इजलासका आदेश दिएको हो । छोरी बेपत्ता पारेको भन्दै मनोज, रूपेशलगायतविरुद्ध बबिताका बुबा ललित इसरले मुद्दा हालेका थिए ।
‘रूपेश रामलाई थुनामै राख्नुपर्ने अवस्थाको विद्यमानता रहेको’ नदेखिएको भन्दै साधारण तारेखमा रिहा गर्ने आदेश सर्वोच्चबाट भएको छ । हाल व्यक्ति बेपत्ता पारेको कसुर जिल्ला अदालत सप्तरीमा विचाराधीन रहेको हुँदा पछि ठहरेबमोजिम हुने गरी रूपेशलाई थुनामै राख्नुपर्ने अवस्था नरहेको निष्कर्षमा इजलास पुगेको हो ।
रूपेश २६ चैत ०७९ देखि थुनामा थिए । उनलाई गैरन्यायिक तवरले थुनामा राखिएको भन्दै रिहा गर्न आदेश मागी ४ साउनमा अधिवक्ता अम्बेडकरले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकोका थिए ।
‘यी निवेदकउपर जुन व्यक्तिलाई अपहरण गरी बेपत्ता पारेको भन्ने अभियोग लगाइएको छ, निज बेपत्ता पारिएको भनिएको बबिता इसरसँग भाइ मनोज रामले दर्ता विवाह गरी कपिलवस्तु जिल्ला अदालतबाट मिति २०८०/०२/२१ मा विवाह दर्ताको प्रमाणपत्र प्राप्त गरेको देखिन्छ । हालसम्मको अवस्थामा उल्लिखित विवाह दर्ताको प्रमाणपत्र र जन्मदर्ताको प्रमाणपत्रउपर उजुरी परी अन्यथा भएको अवस्था देखिँदैन । यसै सम्बन्धमा यिनै निवेदकका भाइ मनोजकुमार रामलाई थुनामा राख्ने गरी भएको आदेशउपर यसै अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा मिति २०८०/०३/३१ गते भाइ मनोज रामलाई थुनामुक्त गर्ने गरी आदेश भएको देखिन्छ,’ सर्वोच्चले जारी गरेको संक्षिप्त आदेशमा छ ।
अर्को जातसँग विवाह गरेको निहुँमा किर्ते जन्मदर्ता बनाएर आफूलाई नाबालिक साबित गरी पिता ललित इसरले आफ्ना श्रीमान् मनोजमाथि व्यक्ति बेपत्ताको अभियोग लगाएको बबिताको भनाइ छ । उनले राजविराजकै मनोजसँग गत वर्ष २२ मंसिरमा आफ्नो इच्छाले विवाह गरेकी थिइन् । तर, आफूहरूलाई तनाव दिन आफ्नो पिताले प्रहरीमा हुँदै नभएको कसुरमा जाहेरी दिई मुद्दा लगाएको बबिताको भनाइ छ । जसपछि सप्तरी जिल्ला अदालतले मनोजलाई २४ जेठमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।