न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रूपमा फिफा महिला विश्वकप फुटबल प्रतियोगिता आयोजना गरिरहेका छन् । अहिले समूह चरणका खेल भइरहेका छन् । कमजोर आँकेका राष्ट्रले बलिया टोलीमाथि स्तब्ध नतिजा निकालेका छन् । अघिल्लोपटकको तुलनामा यसपालि विश्वकपमा दर्शकको उपस्थित बढेको देखिएको छ । विश्वकप हेर्न १५ लाख टिकेट बिक्री भएको फिफाले जनाएको छ । यसकारण न्युजिल्यान्ड र अस्ट्रेलियामा रंगशाला भरिभराउ भएको फिफाले जनाएको छ । फिफा अध्यक्ष जिआनी इन्फाटिन्होले पुरुषको जस्तै महिला विश्वकपमा समेत दर्शकको उपस्थिति बढेको जनाएका छन् ।
‘यसपटकको महिला विश्वकपमा यति धेरै टिकट बिक्री हुने र रंगशाला फुलहाउसजस्तै हुने अपेक्षा थिएन,’ इन्फाटिन्होले भने, ‘महिला खेलाडीलाई दिएको सम्मानप्रति सबै समर्थकलाई धन्यवाद दिन चाहन्छु ।’ महिला विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा २० जुलाईदेखि २० अगस्टसम्म चल्नेछ । सुरुवाती १६ खेलमा चार लाख ५९ हजार पाँच सय ४७ दर्शकको उपस्थिति रहेको फिफाले जनाएको छ । गत संस्करणको तुलनामा प्रतिखेलमा ५४ प्रतिशत सिट भरिएको छ । सन् २०१९ मा फ्रान्सले आयोजना गरेको महिला विश्वकपमा ४६ प्रतिशत मात्र सिट भरिएको थियो ।
फिफाका अध्यक्ष इन्फाटिन्होले फुटबलका माध्यमबाट एकता ल्याउने सन्देश न्युजिल्यान्ड र अस्ट्रेलियाले दिएको जनाएका छन् । उनी भन्छन्, ‘हामी सधैँ फुटबलबाट एकता हुने भन्छौँ, यसको उदाहरण महिला विश्वकप नै हो ।’ विश्वकपकै कारण दुई राष्ट्रबीच पनि सहकार्य भएको र मित्रता बलियो भएको उनले बताए ।
‘विश्वकपकै माध्यमबाट अस्ट्रेलिया र न्युजिल्यान्डबीचको सम्बन्धमा सुधार आएको छ,’ उनले भने, ‘दुवै राष्ट्रलाई फुटबलले बाँधेको छ ।’ प्रतियोगितामा महिला, पुरुष, बालबालिकादेखि वृद्धवृद्धासम्मले फुटबल हेरेका छन् । दर्शकको उपस्थितिले एक साता नबित्दै विश्वकपले ठूलो सफलता प्राप्त गरेको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । ‘दर्शकको उपस्थितिले एक साता नबित्दै महिला विश्वकपले इतिहास कोरेको छ,’ बेलायती एजेन्सीहरूले आयोजक राष्ट्रहरूको प्रशंसा गर्दै भनेका छन्, ‘प्रत्येक खेलमा दर्शकले उत्सुकता देखाएका छन्, रंगशाला पुग्न नसकेका करोडौँ दर्शकले पनि समर्थक गरेका छन् ।’
फिफाले समेत नाइजेरियाको खेलमा थोरै दर्शकको प्रारम्भिक अनुमान लगाएको थियो । तर, नाइजेरियाको खेलमा फिफाको अनुमान गलत भयो । नाइजेरियाको खेलमा ५० हजार दर्शकको उपस्थिति थियो । यसैगरी, अस्ट्रेलिया र आयरल्यान्डबीचको खेलमा सिड्नीमा ७५ हजारभन्दा बढी दर्शक थिए । ‘आयोजक राष्ट्रको खेलमा सोचेभन्दा धेरै टिकट बिक्री भएको थियो, यस खेलमा ७५ हजारभन्दा बढी दर्शकले मजा लिए,’ अस्ट्रेलियन फुटबल एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
न्युजिल्यान्ड र अस्ट्रेलियामा भइरहेको महिला विश्वकपका प्रत्येक खेलमा रंगशालाका ५४ प्रतिशत सिट भरिएको फिफाले जनाएको छ
न्युजिल्यान्ड स्तब्ध
एसियन राष्ट्र फिलिपिन्सले मंगलबार सनसनी जित निकालेको छ । समूह ‘ए’अन्तर्गत वेलिङटनमा भएको खेलमा पहिलोपटक विश्वकपमा सहभागी फिलिपिन्सले सहआयोजक न्युजिल्यान्डलाई १–० ले स्तब्ध पा¥यो । विश्वकपमा फिलिपिन्सले पहिलो जित तथा पहिलो गोल गर्दै इतिहास बनाएको हो । फिलिपिन्सका लागि सरिना बोल्डेनले खेलको २४ औँ मिनेटमा एक मात्र गोल गरेकी थिइन् ।
फिलिपिन्ससँग पराजित न्युजिल्यान्डले नकआउट चरणमा पुग्न स्विट्जरल्यान्डविरुद्धको खेल कुर्नुपर्ने भएको छ । न्युजिल्यान्डले पहिलो खेलमा नर्वेलाई हराएको थियो । फिलिपिन्स स्विट्जरल्यान्डसँग हारेको थियो । महिला विश्वकपमा पहिलो जित निकाल्दा फिलिपिन्सले उत्सवका रूपमा खुसी मनाएको थियो ।
१६ वर्षीया फेयरको कीर्तिमान
दक्षिण कोरिया कोलम्बियासँग २–० ले पराजित भएको छ । यस खेलमा क्यासी फेयरले समग्रमा महिला र पुरुष फिफा विश्वकप खेल्ने सबैभन्दा कम उमेरको खेलाडीको कीर्तिमान बनाइन् । सिड्नीमा भएको खेलको ७७औँ मिनेटमा मैदान छिर्दा उनी १६ वर्ष २६ दिनको मात्र थिइन् । यसअघि नाइजेरियाकी इफेनी चिजाइनले १९९९ मा १६ वर्ष ३४ दिनको उमेरमा विश्वकप खेलेको कीर्तिमान बनाएकी थिइन् । विश्वकपको इतिहासमा २४ वर्षपछि दक्षिण कोरियाकी स्ट्राइकर रेकर्ड तोड्न सफल भइन् ।
पुरुषतर्फको विश्वकपमा उत्तरी आयरल्यान्डका स्ट्राइकर नर्मन ह्वाइटसाइडको कम उमेरमा खेलेको रेकर्ड छ । उनी सन् १९८२ मा युगोस्लाभियाविरुद्ध खेल्दा १७ वर्ष ४० दिनका थिए । फेयरले यू–१७ राष्ट्रिय टोलीबाट दुई खेलमा पाँच गोल गरेपछि विश्वकपको टोलीमा परेकी हुन् । उनी अमेरिकामा एकेडेमी फुटबल खेल्छिन् ।