एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

मंगलबार, ९ साउन, २०८०
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओली सोमबार स्वदेश फर्केका छन् । कम्बोडियामा हालै सम्पन्न संसदीय निर्वाचनको पर्यवेक्षणमा सहभागी भएर ओली स्वदेश फर्किएका हुन् । ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल, संसदीय दलका कार्यवाहक नेता सुवास नेम्बाङ, महासचिव शंकर पोखरेललगायतका नेताहरूले स्वागत गरे । ओलीसँगै उपमहासचिव विष्णु रिमाल, श्रीमती राधिका शाक्य र स्वकीयसचिव राजेश बज्राचार्य पनि फर्किएका छन् । 

गत मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका ओलीले कम्बोडियामा शुक्रबार सम्पन्न निर्वाचनको सिलसिलामा विभिन्न मतदान केन्द्रमा पुगेर पर्यवेक्षण गरेका थिए । पर्यवेक्षण मतदान सकिएपछि पर्यवेक्षण टोलीले आयोजना गरेको पत्रकार सम्मेलनलाई उनले सम्बोधन गरेका थिए । 

कम्बोडियामा रहँदा ओलीले त्यहाँका प्रधानमन्त्री हुन सेन, नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलक, श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रिपाला सिरेसेना, पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीलगायतसँग भेटवार्ता गरी दुई देशबीचको आपसी हितमा केन्द्रित रहेर कुराकानी गरेका थिए ।

कम्बोडियको निर्वाचनमा ९८ पार्टीले भाग लिएका थिए । निर्वाचनमा नेपालबाट ओलीसहित ६५ देशका ३५५ जना प्रतिनिधि पर्यवेक्षकका रूपमा सहभागी थिए । चुनावमा कम्बोडियन पिपुल्स पार्टी (सिपिसी)ले बहुमत हासिल गरेको छ । ०७६ मा प्रधानमन्त्री भएका वेला पनि ओलीले कम्बोडिया भ्रमण गरेका थिए ।

सुझावित समाचार