हातखुट्टा नचल्ने अवस्थालाई प्यारालाइसिस भनेर बुझिन्छ । हिजोआज अधिकांशमा प्रेसर र मधुमेह (सुगर) बिग्रिएर प्यारालाइसिस हुने गरेको पाइन्छ । रगत जम्ने वा बग्ने रोग छ भने पनि प्यारालाइसिस निम्तिन सक्छ । कुनै पनि व्यक्तिको आधा भाग (एकातिरको दाहिने वा देब्रे हातखुट्टा) नचल्ने, एउटा हात नचल्ने, एउटा खुट्टा नचल्ने वा दुवै खुट्टा नचल्ने, मुख बांगिने भएमा प्यारालाइसिस भएको बुझिन्छ । यो अचानक हुन सक्छ ।
कारण
प्यारालाइसिस हुने कारण धेरै छन् । मुख्य कारण भनेको प्रेसर र मधुमेह हुन् । प्रेसर हाई भएको व्यक्तिले औषधि समयमा खाएन, चिकित्सकको परामर्श लिएर प्रेसरलाई कन्ट्रोल गरेर राखेन भने त्यस्ता व्यक्तिमा अचानक रगतको नसा फुट्ने, रगत जम्ने, रगतको नसा कडा भएर त्यो ठाउँमा रक्तसञ्चार कम हुनेलगायत समस्या देखिन्छन् ।
मस्तिष्कमा रक्तसञ्चारको कमी वा रगतको नसा फुटेर रगत बग्दा प्यारालाइसिस हुन सक्छ । कहिलेकाहीँ मुटुसम्बन्धी रोग भएकामा पनि प्यारालाइसिस देखिन सक्छ । ब्रेन ट्युमर हुँदा पनि प्यारालाइसिस हुने जोखिम रहन्छ । तसर्थ, ब्रेन ट्युमरका लक्षण देखिँदा समयमै शल्यक्रिया गर्नुपर्छ र त्यसलाई व्यवस्थापन गर्नुपर्छ । कहिलेकाहीँ साधारण ज्वरो बिग्रिएर टाउकोमा इन्फेक्सन भइदिन्छ । यसलाई चिकित्सकीय भाषामा मेनेन्जाइटिस भनिन्छ । यस कारणले पनि प्यारालाइसिस हुन सक्छ ।
लक्षण
पक्षघातको मुख्य लक्षण शरीरका अंग चलाउन गाह्रो हुनु हो ।
मुख चलाउन असहज हुने, स्पष्टसँग बोल्न नसक्ने, मुख बांगिने ।
यी कुरा ख्याल गरौँ
- प्रेसर कन्ट्रोलमा राख्ने, प्रेसरको औषधि सेवन गर्ने, यदि प्रेसर बढी छ भने तुरुन्त चिकित्सकको परामर्श लिएर औषधिको डोज मिलाउने ।
- मधुमेह नियन्त्रण गर्ने ।
- मुटु र मिर्गौलाको जाँच गर्ने, समस्या छ भने चिकित्सकको परामर्शमा औषधि उपचार गर्ने ।
- कुनै पनि व्यक्तिमा ब्रेनको इन्फेक्सन भयोे भने डाक्टरको परामर्शमा सुईबाट (आइभिएनटी बायोटिक एन्टिभाइरल ड्रग्स दिएर) त्यसलाई तुरुन्त कन्ट्रोल गर्नुपर्छ ।
- प्यारालाइसिस भएको चार घन्टाभित्रै बिरामीलाई न्युरो सेन्टर ल्याउन सके यसको उपचार गर्न सकिन्छ । चिकित्सकहरूले थम्बोलाइसिस उपचार पद्धतिबाट यसको उपचार गर्छन् । रगतको नसाभित्रै रगत सुकेर जमेको छ भने चिकित्सकले रगत पातलो गर्ने औषधि दिने गर्छन् । कोलेस्ट्रोल बढी छ भने त्यसको औषधि चलाउने, अन्य कुनै समस्या छ भने त्यसको उपचार गरिएमा बिरामी केही दिनमै निको हुन्छ ।
- प्यारालाइसिस भएको बिरामीको मुख बांगो हुने, बोली लरबरिने, खाना निल्न नसकेर खाना सर्किने समस्या धेरै हुन्छ । त्यस्तो अवस्थामा चिकित्सकले नाकमा साधारण पाइप हालिदिन्छन् । त्यो पाइपको सहाराबाट बिरामीलाई खाना खुवाउनुपर्छ ।
- प्यारालाइसिस भएको बिरामीलाई नली राखेर दिसा–पिसाब गराउनुपर्छ । धेरै दिन त्यही नली राख्नुहुँदैन, परिवर्तन गरिरहनुपर्छ ।
- थप समस्या देखिएमा चिकित्सकको परामर्शअनुसार औषधि उपचार गर्नुपर्छ ।
- यस्ता कुरामा सावधानी अपनाऔँ
- उच्च रक्तचाप नियन्त्रण गर्ने ।
- मधुमेहको समयमै उपचार गर्ने ।
- मोटोपन घटाउने ।
- तनाव कम गर्ने ।
- शरीरको कुनै भाग कमजोर भए वा नचल्ने भए तुरुन्तै
- कित्सकलाई देखाउने ।