जिल्ला सदरमुकामलगायत आसपासका बस्तीमा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। गत असार २७ गतेदेखि गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो।
विद्युत् सेवा अवरुद्ध भएपछि सदरमुकामस्थित छायानाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवारका साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी संघसंस्थाका कामकाज प्रभावित भएका छन्।
अहिले जिल्ला सदरमुकाम गमगढीलगायत आसपासका ८७ बस्ती अन्धकारमा छन्। ०६८ मा सञ्चालित भएको उक्त आयोजनामा पटक–पटक समस्या आउने गरेको छ। यसकारण जिल्ला सदरमुकाम आसपासका तीन हजार एक सय घरधुरी प्रत्यक्ष मारमा परेका छन्।
विद्युत् नहुँदा सरकारी कामकाजका साथै बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा बाधा पुगेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रबन्धक प्रकाश भामले बताए। विद्युतगृहको मुहानमा बाढी पस्दा नहरमा बालुवा र लेदोले पुरिदिँदा नहरमा पानी प्रवाह नभएपछि विद्युत् उत्पादन बन्द भएको छ।
पटक–पटक बालुवा हटाउन प्रयास गरे पनि सम्भव नभएको र गत वर्षको बाढीका कारण खोलाले धार परिवर्तन गरेपछि वर्षातको समयमा भलसँगै आउने लेदो र बालुवाले नहर जाम हुने गरेको छ। यसका कारण विद्युत् उत्पादनमा समस्या भएको गमगाढ साना जलविद्युत् आयोजनाले बताएको छ।
चार सय किलोवाट विद्युत् उत्पादन क्षमता भएको यस आयोजनामा रहेका विद्युत् उत्पादन गर्ने दुई मेसिनमध्ये एउटा लामो समयदेखि चालू अवस्थामा छैन भने चालू रहेको मेसिनले जेनतेन एक सय ६० किलोवाट विद्युत् उत्पादन गरिरहेको भए पनि हरेक वर्ष वर्षाको समयमा गमगाढ वितरण केन्द्रको मुहान, पावरहाउसमा पटक–पटक समस्या आउने र विद्युत् सेवा अवरुद्ध हुने गरेको छ।
समस्या समधानका लागि काम त गरिन्छ। त्यो प्रभावकारी र दिगो हुन सकेको छैन। दीर्घकालीन समाधानको योजना विद्युत् प्राधिकरणले नबनाउँदा हरेक वर्ष पानी र हिउँ पर्दा विद्युत् सेवाबाट स्थानीयले सास्ती खेप्नु परिरहेको छायानाथ रारा नगरपालिका– ६ का स्थानीय धनबहादुर भाम बताउँछन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुगुमा राष्ट्रिय प्रसारण लाइन असारमा पुर्याउने घोषणा गरेका थिए । राष्ट्रिय प्रसारण लाइन त परकै कुरा हो, चलिरहेको विद्युत् सेवा पनि दुई सातायता ठप्प अवस्थामा छ।
विद्युत् सेवा अवरुद्ध भएपछि नहरको बालुवा हटाउन सशस्त्र प्रहरीदेखि प्राधिकरणका कर्मचारी दिनरात काममा खटिँदै आए पनि साँघुरो नहर, एकजना मात्र भित्र पस्न सक्ने अवस्था भएकाले बालुवा र लेदो हटाउन समस्या भएको जनाइएको छ।
गमगाढ खोला सीधै नहरमा जोडिएकाले पनि हरेक वर्षामा बालुवा तथा लेदो थपिँदै जाने गरेको र विद्युत् सेवा पटकपटक लामो समयसम्म अवरोध हुने गरेको छ।