मनसुनमा साहसिक यात्राका तीन गन्तव्य

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

अहिलेको मौसममा पदयात्रा गर्नेको संख्या तुलनात्मक रूपमा कम हुने गर्छ । वर्षा तथा बाढी–पहिरोको जोखिमका कारण यात्रामा आममानिसको रुचि घट्छ । तर, साहसिक यात्राका पारखीहरूलाई मौसमले खासै फरक पार्दैन । उनीहरू जुनसुकै मौसममा पनि पदयात्राको मज्जा लिन चाहन्छन् । 

तासी लाब्चा ट्रेक : साहसिक पदयात्रा गर्न चाहनेहरूका लागि दोलखा र सोलुखुम्बुको सिमानामा पर्ने तासी लाब्चा पदमार्ग उपयुक्त हुन्छ । ५,७५५ मिटर उचाइमा रहेको तासी लाब्चा पास पुग्नु जोखिमपूर्ण छ । पदमार्गआसपास ‘रकफल’ हुने खतरा पनि उत्तिकै छ ।

तर, यो पदमार्ग खतरा भए पनि यात्रा गर्दा रोमाञ्चक हुन्छ । दोलखाको सिमी गाउँ वा सोलुखुम्बुको सल्लेरी लुक्लाबाट पनि जान सकिन्छ । शेर्पा संस्कृति, च्छो रोल्पा ताल, रोलवालिङ हिमनदी, अग्ला हिमालहरूको दृश्यावलोकन गर्दा बैग्लै आनन्द दिन्छ ।

काठमाडौं–चरिकोट हुँदै चेतचेतसम्म बसयात्रापछि सिमी गाउँ, क्यल्चे, दोङगाङ, छिमु, बेडिङ, ना गाउँ, च्छो रोल्पा ताल, रोल्वालिङ ग्लासियर, ठूलो दुंगा, तासी लाब्चा, थाङबो, थामे, नाम्चे, मन्जो, फाक्दिङ हुँदै लुक्ला पुगेर फर्कन सकिन्छ । 

लुम्बासुम्बा ट्रेक : लुम्बासुम्बा अर्काे साहसिक पदयात्राको गन्तव्यमा पर्छ । ५,१५२ मिटरको यो पदमार्ग ताप्लेजुङबाट सुरु भएर संखुवासभामा सकिन्छ । यात्राका दौरान लिम्बू, तामाङ, राई समुदायको संस्कृति देख्न सकिन्छ । कञ्चनजंघा, माकालुलगायत हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । काठमाडौंदेखि ताप्लेजुङसम्म बसमार्फत पुग्न सकिन्छ ।

काठमाडौं–भद्रपुर र भद्रपुर–सुकेटार हवाईमार्गबाट पनि जान सकिन्छ । ताप्लेजुङबाट लेलेपसम्म जिपयात्रा गरेपछि लेलेपबाट पदयात्रा गर्न सकिन्छ । लेलेप, इलाडाँडा, ओलाङचुङगोला, साम्जुङ, लुम्बासुम्बा पास, थुदाम, चेपुवा, चाम्ताङ, हुङगुङ, हटियसम्मको यात्रा गरेर लगभग दुई हप्तामा फर्कन सकिन्छ । 

गन्जला पास ट्रेकिङ : सिन्धुपाल्चोक र रसुवा जिल्लामा पर्ने ‘गन्जला पास ट्रेक’ छोटो समय पदयात्रा गर्न सकिने पदमार्ग हो । यो क्षेत्र आमा याङ्ग्री, जुगल, लाङटाङलगायत हिमालको दृश्य हेर्नका लागि प्रसिद्ध छ । यहाँको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले जोकोहीलाई लोभ्याउँछ ।

यो पदमार्गको आकर्षण ह्योल्मो तथा तामाङ संस्कृति, पुरातात्विक महत्वका गुम्बा, धार्मिक स्थललगायत स्थानीय रहनसहन पनि हो । यहाँ हरियाली जंगल, विभिन्न प्रजातिका चराचुरुंगी, ग्रामीण क्षेत्रको अनुभव लिन सकिन्छ । काठमाडौैंदेखि सेर्माथाङ तार्केघ्यङ बसयात्रा गर्न सकिन्छ । यो पदयात्रा लगभग १० दिनमा सकिन्छ । 

सुझावित समाचार