विश्वकप विजेता लियोनल मेसीले मेजर सकर लिग क्लब इन्टर मियामीबाट डेब्यु खेलमा विजयी गोल गर्दै सानदार सुरुवात गरे
अर्जेन्टिनी कप्तान लियोनल मेसीले अमेरिकन मेजर सकर लिग क्लब इन्टर मियामीको डेब्यु सानदार बनाएका छन् । शनिबार डेब्यु खेलमा मेक्सिकोको क्रुज अजुललाई २–१ ले हराउँदा मेसीले विजयी गोल गरेका थिए । लिग कपमा पहिलो जितसँगै इन्टर मियामीले महत्वपूर्ण तीन अंक जोडेको छ । मेसीले डेब्यु गोल गर्दा मियामीले लगातार ११ खेलको हार शृंखला रोकेको हो ।
मियामीलाई जिताउन रोबर्ट टेलर र मेसीले गोल गरेका हुन् । खेल १–१ को अवस्थामा रहँदा मेसीले विजयी गोल गरेका थिए । खेलको ४४औँ मिनेटमा टेलरले गोल गर्दै मियामीलाई अग्रता दिलाए । ६५औँ मिनेटमा उरियल अन्तुनाले गोल गरेपछि क्रुज खेलमा फर्किएको थियो ।
तर, घरेलु मैदान भिआरभी पिएनके मैदानमा थपिएको चार मिनेटमा मेसीले गोल गरेका थिए । मेसीले इन्जुरी समयको पनि अन्तिम मिनेटमा गोल गरेका हुन् । खेलको ५१औँ मिनेटमा डेब्यु गरेका मेसीले आफैँलाई बक्सबाहिर लडाएपछि पाएको फ्रिकिकमा गोल गरेका हुन् । मेसीले क्रसबार च्यापेर हानेको प्रहारले सीधै जाली चुमेको थियो ।
विजयी गोलपछि मेसीले यसैको प्रतीक्षामा रहेको बताएका छन् । ‘मैले सधैँ यो फ्रिकिकका लागि प्रयास गरेँ । गोल पनि भयो । आज भाग्यशाली रहेँ,’ सातपटकको बालोन डिओर विजेता मेसीले गोलपछि भनेका छन् । ‘डेब्यु गोलमा धेरै खुसी छु,’ मेसीले थपेका छन् । हजारौँ दर्शकमाझ मेसीसहित सर्जियो बुस्क्वेटले पनि मियामीका लागि डेब्यु गरेका छन् ।
बार्सिलोनाका पूर्वखेलाडी मेसी र बुस्क्वेट अघिल्लो साता मियामीमा अनुबन्ध भएका थिए । कतार फिफा विश्वकप विजेता मेसी दुई वर्ष पेरिस सेन्ट जर्मेनको बसाइपछि अमेरिका पुगेका हुन् । बुस्क्वेट भने सीधै बार्सिलोनाबाट फ्लोरिडा पुगेका थिए । मेसी र बुस्क्वेटले बार्सिलोनामा रहँदा समान १० पटक ला लिगा र चारपटक च्याम्पियन्स लिग उपाधि जितेका छन् । (*नयाँ पत्रिकामा आज प्रकाशित समाचारको लिडलाइनमा भूलवश इन्टर मिलान हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ । सं.)