फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा सहआयोजक न्युजिल्यान्डले बुधबार सनसनी नतिजा निकालेको छ । विश्वकपको उद्घाटन खेलमा न्युजिल्यान्डले पूर्वविश्वच्याम्पियन नर्वेलाई १–० ले स्तब्ध पारेको छ ।
महिला विश्वकपमा न्युजिल्यान्डको यो पहिलो जित हो । अकल्यान्डस्थित इडेन पार्कमा ४८औँ मिनेटमा हाना विकिन्सनले निर्णायक गोल गरेकी थिइन् । ज्याकी हान्डको पासमा विकिन्सनले गोल गर्दै ४२ हजार एक सय ३७ घरेलु दशर्कलाई खुसी बनाइन् । न्युजिल्यान्ड फुटबलमा यो कीर्तिमानी दर्शक उपस्थिति हो ।
न्युजिल्यान्डकी कप्तान अली रिललेले पूर्वविश्वविजेतालाई हराउन ठूलो मिहिनेत गरेको बताइन् । ‘हामीले जित निकाल्न धेरै मिहिनेत गरेका थियौँ, यस प्रदर्शनमा टोलीप्रति गर्व गर्छु,’ उनले भनिन् ।
‘युवा खेलाडीले आत्मविश्वासका साथ खेल्दै तीन अंक प्राप्त हात पारे ।’ इभेन रियाले खेलको ८९औँ मिनेटमा प्राप्त अवसरमा गोल गर्न नसक्दा न्युजिल्यान्ड २–० को अग्रता बनाउन चुकेको थियो ।
रियाको पेनाल्टी प्रहार क्रसबारमा लागेको थियो । रिबाउन्ड बललाई नर्वेका खेलाडीले क्लियर गरे । नर्वेकी टुभाव हान्सेनले पेनाल्टी क्षेत्रमा हातले बल छोएपछि जापानी रेफ्री योसिमी यामासिताले न्युजिल्यान्डलाई पेनाल्टी अवसर दिएकी हुन् ।
न्युजिल्यान्ड पछिल्लो १५ विश्वकप खेलमा जितविहीन थियो । घरेलु दर्शकमाझ न्युजिल्यान्डले नर्वेको आक्रामक खेल रोक्न सफल भयो । सन् १९९५ को विश्वविजेता नर्वेविरुद्धको जितसँगै समूह ‘ए’मा न्युजिल्यान्डसँगै फिलिपिन्स र स्विट्जरल्यान्ड छन् ।
खेल सुरु हुनुअघि अकल्यान्डमा गोली हानाहान भएको थियो । गोली हानाहानमा तीनजनाको मृत्यु र आधा दर्जन घाइते भएका छन् । रंगशालाबाहिर माहोल खराब रहे पनि खेल समयमै सुरु भएको थियो । खेलस्थल, खेलाडीका गाडी र होटेलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
अस्टे«लियाले आयरल्यान्डलाई हरायो
स्टेफ काट्लेले पेनाल्टी गोल गरेपछि आयोजक अस्ट्रेलियाले आयरल्यान्डलाई १–० ले हरायो । सिड्नीमा ७५ हजार सात सय ८४ समर्थकमाझ अस्ट्रेलियाका लागि नियमित कप्तान साम केर घाइते भएपछि काट्लेले आर्म ब्यान्ड लगाएकी थिइन् । केरले नाइजेरियाविरुद्धको दोस्रो खेल गुमाउनेछिन् ।
साथीहरूसँग बेन्चमा रमाइलो गर्ने क्रममा केरले खुट्टामा चोट बोकिन् । ‘आयरल्यान्ड साँच्चै राम्रो टोली हो । हामीलाई दबाब सिर्जना ग¥यो,’ केरले भनिन्, ‘हामीलाई जित निकाल्न कठिन भयो । उनीहरूले साँच्चै राम्रो खेलेका थिए ।’
आयरल्यान्डकी कप्तान काटिया म्याककाबले दोस्रो हाफमा राम्रो गरेको बताइन् । लेफ्ट ब्याक काट्लेले खेलको ५२औँ मिनेटमा पेनाल्टीमा गोल गरेकी थिइन् ।