ओनाना भित्र्याउँदै युनाइटेड

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण

म्यानचेस्टर युनाइटेडले इन्टर मिलानका गोलरक्षक एन्ड्रे ओनाना भित्र्याउन नजिक पुगेको छ । म्यानचेस्टरले सिरिए क्लब मिलानका पहिलो रोजाइका गोलरक्षकसँग अनुबन्ध गर्न ४२.२ मिलियन पाउन्ड प्रस्ताव राखेको छ । मिलानले युनाइटेडको प्रस्ताव सकारात्मक रहेको जनाएको छ ।

युनाइटेडले २०२३/०२४ मा नयाँ गोलरक्षक ओनानाका साथ लिग सुरु गर्नेछ । नम्बर एक गोलरक्षक डेभिड जियाले क्लब छाड्ने घोषणा गरेपछि युनाइटेड संकटमा परेको थियो । दुई साताअघि जियाले १२ वर्षपछि युनाइटेडबाट बाहिरिएको जनाएका थिए ।

इंग्लिस क्लबले भरपर्दा गोलरक्षकको खोजीका क्रममा क्यामरुनका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका ओनानामाथि नजर राखेको थियो । युनाइटेडले सुरुवाती सम्झौता रकम नै महँगो राखेपछि मिलान पछि नहटेको एजेन्सीले जनाएको छ । यसमा ३.४ मिलियन पाउन्ड पनि थप हुन सक्ने युनाइटेडले जनाएको छ । इंग्लिस प्रिमियर लिग सुरु हुनुअघि युनाइटेडले अमेरिकाको भ्रमण गर्नेछ । त्यस भ्रमणमा ओनानाको साथ पाउने क्लबको विश्वास छ । 

युनाइटेडले भिसा प्रक्रिया अगाडि बढाएको छ । प्रशिक्षक एरिक टेन हाङलाई ओनानाको स्किल राम्रोसँग थाहा छ । एज्याक्सका प्रशिक्षकका रूपमा हाङ रहँदा गोलरक्षकमा ओनाना नै थिए । युनाइटेडले उनलाई कम्तीमा ६ वर्षको सम्झौताको तयारी गरेको छ । ‘उनी निकै राम्रा गोलरक्षकमा पर्छन्, उनीबाहेक जियाको स्थान अरूले लिन सक्दैनन्,’ हाङले भने । 

सुझावित समाचार