नेपाल भलिबल संघले एक महिनाको अवधिभित्र राष्ट्रिय पुरुष भलिबल टोलीमा नयाँ कप्तान चयन गरेको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले स्पाइकर मानबहादुर श्रेष्ठलाई नेपालका ११औँ कप्तानका रूपमा चयन गरेको छ । यसअघि हरिहजुर थापा कप्तान थिए । संघले उनलाई अनुशासनको कारबाही गर्दै ३२ असारमा राष्ट्रिय टोलीको कप्तानी जिम्मेवारीबाट बर्खास्त गरेको थियो । सातौँ प्रधानमन्त्री राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताका दौरान २५ असारमा गण्डकी प्रदेशविरुद्ध त्रिभुवन आर्मीका खेलाडीसमेत रहेका थापालाई आफ्नै खेलाडी उत्तेजित बनाएको र अनुशासनमा राख्न नसकेकाले दोषी मान्दै संघले कारबाही गरेको थियो ।
संघले लिगका दौरान अनुशासनहीन क्रियाकलापमा संलग्न भन्दै आर्मीका धनबहादुर भट्ट, राजेन्द्र विष्ट र धनपति कुँवरलाई प्रतिबन्ध लगाएको छ । स्पाइकर भट्ट ६ महिना प्रतिबन्धमा परेका छन् । विष्ट र कुँवरलाई समान तीन महिना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न प्रतिबन्ध लगाइएको छ । गण्डकीविरुद्धको खेलमा आर्मीका स्पाइकर भट्टले दर्शकलाई प्यारापिटमै गएर कुटेका थिए । चेकआउट हुँदा आर्मीलाई अंक दिएको भन्दै गण्डकीका खेलाडीले असन्तुष्टि पोखेका थिए ।
दर्शकदिर्घाबाट हुटिङ आएपछि आर्मीका खेलाडीले पनि अपशब्द प्रयोग गरेका थिए । दर्शकले कोर्टभित्रै बोतल प्रहार गरेका थिए । त्यसपछि आर्मीका खेलाडी उत्तेजित बने । खेलाडीलाई उत्तेजित पार्ने क्रममा थापा सबैभन्दा अगाडि थिए । घटनामा संलग्न रहेको भन्दै आर्मी तथा राष्ट्रिय टोलीका कप्तान रहेका थापालाई कप्तानीबाट बर्खास्त गरियो । गत ३२ जेठमा उनी नेपालका नयाँ कप्तान बनेका थिए । तर, थापाले एक महिनाभन्दा बढी कप्तानी गर्न अवसर पाएनन् ।
आठ वर्षदेखि निरन्तर राष्ट्रिय टोलीमा
नेपालका नयाँ कप्तान मानबहादुर विगत आठ वर्षदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । उनी घरेलु क्लब आर्मीमा आबद्ध छन् । सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन खेलकुद प्रतियोगितामा समेत उनले सहभागिता जनाएका थिए । यसपटक उनको कप्तानीमा नेपालले चीनमा आयोजना हुने एसियाडमा भाग लिनेछ । सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनमा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । सन् २०१७ मा नेपालले माल्दिभ्समा पहिलो अन्तर्राष्ट्रिय पदक जित्दा उनी प्रमुख सदस्य थिए । सन् २०१९ मा नेपालमै भएको सेन्ट्रल जोनमा उनी सहभागी भएनन् । उनले १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालको राष्ट्रिय बिच भलिबल टोलीको कप्तानीको अवसर प्राप्त गरेका थिए ।