कतिपयलाई दिउँसो सुत्ने बानी हुन्छ । तर, थोरै समय सुत्दा पश्चाताप मान्नुपर्ने केही छैन । हेल्थ स्लिपमा प्रकाशित नयाँ अध्ययनले दिउँसो थोरै समय सुत्दा मस्तिष्क स्वस्थ रहने जनाएको छ । यस अध्ययनका क्रममा अनुसन्धानकर्ताहरूले युके बायोबैंकले संकलन गरेको तथ्यांकबारे अध्ययन गरेका थिए ।
बायोबैंकले बेलायतका ४० देखि ६९ वर्ष उमेरका ५ लाख मानिसहरूको स्वास्थ्य, जेनेटिक र जीवनशैलीबारेको तथ्यांक संकलन गरेर राखेको छ । त्यसमध्ये ३५ हजार ८० जनाको तथ्यांकलाई युनिभर्सिटी कलेज लन्डन र युनिभर्सिटी अफ द रिपब्लिक इन उरुग्वेका अनुसन्धानकर्ताहरूले विस्तृतमा अध्ययन गरेका थिए । उनीहरूले दिउँसोको आराम, जागरण र मस्तिष्कको संरचनाबीचको सम्बन्धबारे अध्ययन गरेका थिए ।
यसअघि जर्नल अफ अमेरिकी जेरियाट्रिक्स सोसाइटीमा प्रकाशित अध्ययनले थोरै समय सुत्ने मानिसहरूको स्मरणशक्ति तेज रहेको देखाएको थियो । वैज्ञानिकहरूले दिउँसोको समय झन्डै २० मिनेट आराम गर्नु राम्रो हुने बताएका छन् । तर, वयस्कहरूले ३० मिनेटभन्दा बढी आराम गर्न नहुने वैज्ञानिकहरूको तर्क छ । यसरी छोटो समय सुत्दा मानिस गहिरोसँग निदाउन पाउँदैन र रातिको निद्रा पनि बिग्रँदैन ।
निष्कर्ष : अध्ययनहरूले दिउँसोको आराम र स्मरणशक्तिबीचको सम्बन्ध सकारात्मक रहेको देखाएका छन् । तर, सुत्ने अवधि महत्वपूर्ण हुन्छ । दिउँसो धेरै समय सुत्दा स्वास्थ्यमा खराब असर पर्न सक्छ । त्यसैले ३० मिनेटभन्दा कम सुत्नु राम्रो
हुने विज्ञहरू बताउँछन् । यस्तो गर्दा मानिस रिफ्रेस हुन पाउँछ ।