२५ शय्यासम्मका अस्पतालले महानगरबाट अनिवार्य अनुमति लिनुपर्ने

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

२५ शय्यासम्मका अस्पतालले काठमाडौं महानगरबाट अनिवार्य अनुमति लिनुपर्ने भएको छ । महानगरअन्तर्गत विधायन समितिका संयोजक मचाराजा महर्जनले मंगलबार १३औँ नगरसभाको चौथो बैठकमा पेस गरेको जनस्वास्थ्य सेवा विधेयक, ०८० को दफा २६ को उपदफा २ मा यस्तो व्यवस्था उल्लेख गरिएको छ ।

२५ शय्याको अस्पतालबाहेक स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, होमियोपेथी क्लिनिक र यस्तै प्रकारका क्लिनिक, पोलिक्लिनिक, डेन्टल क्लिनिक र विशेषज्ञ क्लिनिकले पनि महानगरबाट अनुमति लिनुपर्नेछ ।

औषधि पसल, फिजियोथेरापी केन्द्र, पुनस्र्थापना केन्द्र, प्राकृतिक उपचार केन्द्र, अकुपन्चर, अकुप्रेसर केन्द्र, युनानी उपचार केन्द्र, योगध्यान तथा शारीरिक व्यायाम केन्द्र, परम्परागत सेवा क्लिनिक र यस्तै प्रकारका क्लिनिक तथा सेवा केन्द्रहरू, जेरियाट्रिक परामर्श केन्द्र, प्रयोगशाला (डी र ई) वर्गको, आरोग्य केन्द्रलगायत स्वास्थ्य संघ–संस्थाले समेत महानगरबाट अनिवार्य अनुमति लिनुपर्ने विधेयकमा उल्लेख छ ।

विधेयकको दफा ३ को उपदफा २ मा १० वटा आधारभूत सेवा भने निःशुल्क लिन सकिने उल्लेख छ । जसअन्तर्गत खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन, पोषण सेवा, गर्भवती प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, गर्भपतन तथा प्रजनन स्वास्थ्य, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्यसेवा निःशुल्क पाउन सकिनेछ ।

सरुवा रोगसम्बन्धी सेवा, नसर्ने रोग तथा शारीरिक विकलांगतासम्बन्धी सेवा, मानसिक रोगसम्बन्धी सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य, सामान्य आकस्मिक अस्वस्थताको सेवा पनि महानगरबाट निःशुल्क लिन सकिनेछ ।

विद्यालयवरपर जंकफुड बेचे कारबाही 
महानगरपालिकाले विद्यालयवरपर जंकफुड बेचबिखन गरे कारबाही गर्ने भएको छ । महानगरले बनाएको विधेयकको दफा ४२ को उपदफा ६ मा जंकफुडलगायत मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण, प्रचार–प्रसार गरेको पाइएमा सम्बन्धित विद्यालय तथा त्यस्तो जंकफुडको बिक्री–वितरण वा प्रचारप्रसार गर्ने व्यक्ति वा संस्थालाई कानुनबमोजिम कारबाही हुनेछ ।

‘विद्यालय, स्वास्थ्य संस्थालगायत महानगरपालिकाले सूचना प्रकाशित गरेर चार किल्ला तोकेका स्थान र सोवरपर जंकफुड, मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण, प्रचार र उपभोग निषेधित गर्न सक्नेछ,’ विधेयकमा भनिएको छ, ‘उपदफा ६ बमोजिमका निषेधित क्षेत्रमा जंकफुड, मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण, प्रचारप्रसार गरेको पाइएमा सम्बन्धित विद्यालय तथा त्यस्तो जंकफुडको बिक्री–वितरण वा प्रचारप्रसार गर्ने व्यक्ति वा संस्था वा दुवैलाई कानुनबमोजिम कारबाही हुनेछ ।’ 

See More On

सुझावित समाचार