थाइल्यान्डको संसद्को तल्लो तथा माथिल्लो सदनको संयुक्त सत्र बिहीबार नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ । प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरात थिए । तर, उनले संसद्को दुवै सदनको कुल सांसद संख्याको आधा (अर्थात् साधारण बहुमत) मत हासिल गर्न सकेनन् । पाँच सय सदस्यीय तल्लो सदन र २५० सिनेटरको माथिल्लो सदनको संयुक्त अधिवेशनमा एक मात्र उम्मेदवार पिताले ३२४ मत हासिल गरेका थिए ।
यसकारण कठिन छ नयाँ प्रधानमन्त्रीको चयन
संसदीय अभ्यास गर्ने विश्वका अधिकांश देशमा जनताबाट चुनिएर आउने प्रतिनिधि सम्मिलित तल्लो सदनका सांसदको बहुमत संख्याले कार्यकारी प्रधानमन्त्री छान्ने अभ्यास छ । थाइल्यान्डमा आठ वर्ष शासन गरेको सैन्य सरकारले बनाएको वर्तमान संविधानले माथिल्लो र तल्लो सदनको कुल सांसद संख्याको बहुमत हासिल गर्ने मात्र प्रधानमन्त्री हुने व्यवस्था गरेको छ । त्यसमाथि माथिल्लो सदनका २५० सिनेटर सबै सेनाबाट मनोनीत हुन्छन् ।
निर्वाचित प्रतिनिधिलाई प्रधानमन्त्री बन्न अवरोध सिर्जना गर्न यो व्यवस्था गरिएको आलोचकहरूको आरोप छ । यसले गर्दा पहिले नै पिताले दुवै सदनको जोडेर हुने बहुमत अर्थात् ३७६ मत हासिल गर्न कठिन हुने मानिएको थियो । थाइल्यान्डमा गत मे महिनामा भएको आमनिर्वाचनमा मुभ फरवार्ड पार्टी संसद्को तल्लो सदनमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो ।