सावित्राको गोलमा नेपाल जोगियो

बंगलादेशविरुद्ध सावित्रा भण्डारीले खेलको अन्तिम इन्जुरी समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाइन्

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

सावित्रा भण्डारीले अन्तिम इन्जुरी समयमा गोल गरेपछि नेपालले बंगलादेशलाई पहिलो मैत्रीपूर्ण फुटबल प्रतियोगितामा १–१ को बराबरीमा रोकेको छ । ढाकास्थित कमल रंगशालामा बिहीबार बंगलादेशले १–० को अग्रता रक्षा गर्न नसक्दा नेपालसँग बराबरी खेल्न बाध्य भयो । आइतबार दोस्रो खेल हुनेछ । खेलको ६५औँ मिनेटमा बंगलादेशले १–० को अग्रता लियो ।

मिडफिल्डर सरु लिम्बूले बल फुत्काएपछि बंगलादेशकी कप्तान सविना खातुनले सहजै बक्सभित्रबाट अग्रता गोल गरिन् । एक गोलले पछि परेपछि नेपाल दबाबमा देखियो । प्रशिक्षक अनन्तराज थापाले कप्तान रेनुका नगरोटीको स्थानमा अनिता केसीलाई मैदान प्रवेश गराएपछि नेपालले खेलमा सुधार ल्यायो । नेपाल निर्धारित ९० मिनेटसम्म १–० ले पछि नै थियो । लगभग नेपाल हारतर्फ उन्मुख भइसकेको थियो । खेलको अन्तिम चार मिनेटको इन्जुरी समयमा सावित्राले बराबरी गोल फर्काइन् । 

बंगलादेशको कमजोर रक्षापंक्तिको फाइदामा सावित्राले रेखा पौडेलको पासमा गोल गरेकी हुन् । यसअघि रेनुका बाहिरिएपछि एन्जिला तुम्बाप्पो सुब्बाले कार्यवाहक कप्तानीको ‘आर्म ब्यान्ड’ लगाएकी थिइन् । दोस्रो हाफमा रश्मिकुमारी घिसिङ र रेखाले सावित्रासँगै नेपालको अग्रपंक्ति सम्हालेका हुन् ।

 आक्रमणमा नेपाल बलियो
नेपाल बंगलादेशविरुद्ध पूरै समय आक्रामक रूपमा रह्यो । गत असारमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको थियो । पहिलो मैत्रीपूर्ण खेलको ५६औँ मिनेटमा सावित्राले बक्सभित्रबाट प्रहार गरेको बललाई बंगाली रक्षकले क्लियर गरिन् । खेलको ७३औँ मिनेटमा नेपालले सुनौलो अवसर गुमाएको थियो । 

सावित्राको पासमा रश्मिले बक्सभित्रबाट प्रहार गरेको बललाई बंगाली गोलकिपर चक्माले उत्कृष्ट बचाउ गरेकी थिइन् । खेलको ७५औँ मिनेटमा बंगलादेशले दोस्रो गोल गर्ने अवसर गुमायो । सविनाले वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बललाई नेपालकी गोलरक्षक एन्जिलाले उत्कृष्ट बचाउ गरेकी थिइन् । 

सुझावित समाचार