महानगरभित्रका शिक्षकको अन्तरविद्यालय सरुवा गरिने

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

प्रधानाध्यापक पनि प्रतिस्पर्धाबाट चयन, योग्य शिक्षकले आवेदन दिन सक्ने

काठमाडौं महानगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकलाई अन्तरविद्यालय सरुवा गरिने भएको छ । यसका लागि महानगरले सामुदायिक विद्यालयका प्रधानाध्यापक छनोट र अन्तरविद्यालय शिक्षक सरुवासम्बन्धी कार्यविधि अघि बढाएको छ ।  

महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार ‘दरबन्दी मिलान तथा प्रअ व्यवस्थापनसम्बन्धी कार्यविधि ०८०’ निर्माणका लागि छुट्टै कार्यदल गठन गरिएको छ । कार्यदलले महानगरको नगर कार्यपालिकाबाट सैद्धान्तिक सहमति पाएपछि कार्यविधिको गृहकार्य अघि बढेको हो । कार्यविधि तयार भएपछि विषयगत र विधायन समिति हुँदै महानगरको कार्यपालिका बैठकबाट पास हुनेछ । त्यसका निम्ति करिब दुई महिना लाग्नेछ । ‘महानगरभित्रका शिक्षक सरुवा र प्रधानाध्यापक छनोटका लागि यो कार्यविधि तयार पार्न लागेका हौँ,’ विभाग प्रमुख कोइरालाले भने, ‘दुई महिनासम्म कार्यविधि तयार हुन्छ, यसलाई ०८०/८१ देखि नै कार्यान्वयन गर्ने हाम्रो योजना छ ।’

सीताराम कोइराला शिक्षा विभाग प्रमुख, काठमाडौं महानगर
महानगरभित्रका शिक्षक सरुवा र प्रधानाध्यापक छनोटका लागि यो कार्यविधि तयार पार्न लागेका हौँ । दुई महिनासम्ममा कार्यविधि तयार हुन्छ, यसलाई शैक्षिक सत्र ०८०/८१ देखि नै कार्यान्वयन गर्ने हाम्रो योजना छ ।

कार्यविधि तयार भइसकेपछि महानगरभित्रका स्कुलहरूमा प्रधानाध्यापकको दरबन्दीका लागि सूचना खुला गरिनेछ । सोहीअनुसार महानगरभित्र रहेका शिक्षकले नै आवेदन फाराम भरेपछि प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरिनेछ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले यसअघि नै यस्तो अभ्यास गरिसकेको छ । खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्दा योग्य व्यक्ति चयन हुने र विद्यालय शैक्षिक गुणस्तर सुधार हुने महानगरको विश्वास छ । तर, खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट तथा शिक्षक छोटो समयमै सरुवा हुँदा विद्यालयको व्यवस्थापनमा समस्या हुने विज्ञहरूको तर्क छ ।

यसबाहेक एउटै स्कुलबाट धेरैजसो शिक्षकले प्रअका निम्ति नाम निकाले त्यस विद्यालयमा शिक्षकको अभावसमेत हुने देखिन्छ । तर, महानगरभित्र रहेका विद्यालयमा शिक्षक अभावको समस्या नहुने विभाग प्रमुख कोइरालाको भनाइ छ ।

काठमाडौं महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय र यहाँ करिब एक हजार सात सय शिक्षक कार्यरत छन् । यी शिक्षकलाई कति अवधिसम्म एउटा विद्यालयमा काम गर्न पाइने भन्ने मापदण्ड कार्यविधिमा समेटिनेछ । सोही आधारमा शिक्षलाई महानगरभित्र रहेका अन्तरविद्यालयमा सरुवा गरिनेछ । यसो गर्दा विद्यालय तह सुधार हुने र शिक्षक जिम्मेवार हुने महानगरको ठम्याइ छ । 

यस्तो छ प्रधानाध्यापक छनोट प्रक्रिया ?
महानगरले तयार पारेको कार्यविधि कार्यान्वयन भएसँगै हाल भइरहेका प्रधानाध्यापक जिम्मेवारीबाट मुक्त हुनेछन् । यद्यपि, उनीहरू सोही विद्यालयमा शिक्षकको जिम्मेवारीमा भने रहनेछन् । नयाँ प्रअ छनोटका लागि निवेदन आह्वान गरिनेछ । विज्ञापन खुलेपछि महानगरभित्रै रहेका शिक्षकले आवेदन फाराम भर्न सक्नेछन् । मावि तहको प्रधानाध्यापकका लागि सोही तहमा पढाउने शिक्षकबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, निमावि र प्रावि तहको प्रअ छनोट प्रक्रिया पनि सोहीअनुसार हुनेछ । 

महानगरमा प्लस टु तह मात्रै पढाउन नपाइने 
काठमाडौं महानगरभित्र प्लस टु मात्रै पढाउने गरी विद्यालय खोल्न नपाउने कानुन निर्माण गरिने भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित महानगरको १३औँ नगरसभामा यो प्रस्ताव पेस गरिएको छ ।

महानगरपालिका–२३ का वडाध्यक्ष तथा विधान समितिका संयोजक मचाराजा महर्जनले यस्तो प्रस्ताव पेस गरेका हुन् । महानगरभित्र रहेको प्लस टु मात्रै पढाउने विद्यालयले अब त्यसभन्दा तल्लो तहमा पनि पढाउनुपर्ने भन्दै महर्जनले महानगरको शिक्षा ऐन, ०७५ संशोधनका लागि प्रस्ताव पेस गरेका थिए । उनले नगरसभामा हाल ११ र १२ मात्रै पढाइरहेका विद्यालयहरूले अब १० कक्षासम्म पनि पढाउनुपर्ने बताए । उक्त संशोधन प्रस्ताव पास भएपछि नयाँ नियम लागू हुनेछ, अर्थात् ११ र १२ कक्षा मात्रै सञ्चालन गर्न पाइनेछैन । कक्षा १० सम्म पनि पढाउनुपर्नेछ । 

सूर्यविनायकमा यो शैली ६ वर्षदेखि कार्यान्वयनमा
भक्तपुरको सूर्यविनायक नगरपालिकाले विद्यालयको गुणस्तर कायम गर्न कार्यविधि बनाएर ०७४ पुसदेखि प्रतिस्पर्धाबाट प्रअ छनोट गरिरहेको छ । नगरपालिकाभित्र रहेका ३० वटा विद्यालयमा १७ जना नयाँ प्रअ छनोट भएका थिए भने अन्यमा पुरानैले नाम निकालेका थिए । एउटै स्कुलमा पढाउने तीनजना शिक्षकसम्मले प्रअमा नाम निकालेका थिए । नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार यस्तो अभ्यास गरेपछि विद्यालय व्यवस्थापन र शिक्षा सुधारमा प्रभावकारिता देखिएको छ । ‘हामीले पुस ०७४ को दोस्रो नगरसभामा सूर्यविनायक नगरपालिका शिक्षा कार्यविधि ०७४ तयार पारेका थियौँ, सोहीअनुरूप प्रअ छनोट गर्‍यौँ,’ उनले भने, ‘कार्यविधि बनाउँदा विज्ञहरूलाई राखेका थियौँ ।’ 

See More On

सुझावित समाचार