लामो अन्तरालपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । यसलाई कसरी हेर्नुभएको छ ?
कांग्रेससामु अहिले दुईवटा मुख्य चुनौती देखिन्छन् । पार्टीमा अन्तर्विरोध चर्को छ । यसलाई कसरी मिलाएर लैजाने भन्ने पहिलो चुनौती हो । पार्टीलाई जनतासम्म कसरी पुर्याउने भन्ने दोस्रो चुनौती हो । पार्टीका संस्थापन र इतर पक्ष दुवै उस्तै छन् । गुरु घिमिरेहरूले केही सक्रियता देखाएका छन् । तर, बैठकमा यसको कुनै प्रभाव पर्ला जस्तो लाग्दैन ।
यो बैठकले पार्टी जीवनमा तात्विक प्रभाव पार्न सक्ने सम्भावना कति छ ?
यो बैठक परम्पराभन्दा माथि उठ्ला जस्तो लाग्दैन । एउटा बैठकले मात्र पार्टी जीवनमा प्रभाव पार्दैन पनि । पार्टीलाई जीवन्त बनाउन नेतृत्वमा रहने सबैले आआफ्नो प्रवृत्तिगत परिवर्तन गर्न सक्नुपर्छ । तर, यहाँ त्यस्तो गुन्जाइस देखिन्न । सबैमा आफूलाई भगवान् मान्ने वा मनाउने सोच व्याप्त छ । यस्तोमा कांग्रेसको यो बैठक ‘तँ’ ठिक कि ‘म’ ठिक भन्ने विवादकै बिचमा टुंगिएला जस्तो लाग्छ ।
बैठकको मुखमा केन्द्रीय सदस्यहरूलाई केही सुझाब दिनुपर्यो भने के भन्नुहुन्छ ?
कुनै पनि पार्टीको नेतृत्वमा बस्नेहरूको स्वभाव असल हुनुपर्छ । उसको आचरण सफा र पारदर्शी भएन भने ऊ नेता बन्नै सक्दैन । उसले अरूसँग गर्ने व्यवहार कति सुमधुर छ ? यसको पनि लेखाजोखा हुनुपर्छ । यी सबैका आधारमा पार्टी नेता, कार्यकर्ता र आमजनतासँग स्थापित हुने सम्बन्धले पार्टीलाई गति दिन सक्छ । तर, कांग्रेसका नेताले यस विषयमा ध्यान दिन छाडिसकेका छन् । त्यसैले, सुझाब दिनुको अर्थ छैन ।