आर्मीका खेलाडीले नराम्रो शब्द प्रयोग गरेपछि दर्शकले बोतल प्रहार गरेका थिए । आर्मीका खेलाडीले सीधै प्यारापिटमा रहेका दर्शकमाथि मुक्का बर्साए ।
सातौँ राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा सोमबार विभागीय क्लब त्रिभुवन आर्मीका खेलाडीले दर्शकमाथि अभद्र व्यवहार गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुरुषतर्फको प्रतिस्पर्धामा आर्मीले गण्डकी प्रदेशविरुद्ध प्रतिस्पर्धा गरेको थियो । आर्मी र गण्डकीबीच तेस्रो सेट चलिरहँदा सामान्य विवाद भएको थियो ।
आर्मीका खेलाडीले नराम्रो शब्द प्रयोग गरेपछि प्यारापिटमा रहेका दर्शकले खेलाडीमाथि बोतल प्रहार गरेका थिए । आर्मीका खेलाडीले सुरुमा दर्शकलाई कोर्टभित्रबाटै गालीगलौजसँगै चेतावनी दिएका थिए । सयौँ संख्यामा रहेका दर्शकले आर्मीको व्यवहारको प्रतिकार गरेका थिए ।
आर्मीका केही सिनियर खेलाडीले आफूलाई रोक्न सकेनन् । उनीहरू दर्शक बसेको प्यारापिटमै गए । आफूहरूमाथि बोतल प्रहार गर्ने दर्शकलाई कुटे । आर्मीका खेलाडीलाई अफिसियलले समेत साथ दिए । खेलाडी र अफिसियलले दर्शकलाई निर्ममतापूर्वक मुक्का प्रहार गरे । यसअघि नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले आर्मीका खेलाडी र अफिसियललाई रोक्ने प्रयास गरेका थिए ।
तर, होस गुमाएका आर्मी खेलाडी चन्दको आग्रह नसुनी सीधै दर्शकदिर्घामा पुगेका हुन् । राष्ट्रिय टोलीका धनबहादुर भट्ट क्षेत्री र एक अफिसियलले दर्शकदिर्घामै पुगेर एक दर्शकलाई मुक्का प्रहार गरेका हुन् । साथसाथै, आर्मीको बेन्चबाट कुर्सी प्रहार भएको थियो । आर्मीका हरिहजुर थापा, हरि अधिकारीलगायत खेलाडीलाई सुरक्षाकर्मीले सम्हालेका थिए । आर्मीले सोझो सेटमा खेल जितेपछि तेस्रो सेटमा झगडा हुन पुगेको थियो । तेस्रो सेटमा आर्मी २३–२४ ले पछि रहेको थियो । गण्डकी प्रदेशका खेलाडीले स्पाइकर बाहिरिएपछि आर्मीले अंक प्राप्त गर्यो । खेल २४–२४ को स्थितिमा रहँदा सामान्य विवाद भएको थियो ।
पुलिसको लगातार तेस्रो जित
नेपाल पुलिस क्लबको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ । पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै तीन अंक जोडेको हो । पुलिसले एकतर्फी खेलमा आर्मीलाई २५–१८, २५–१२, २५–१८ ले पराजित गरेको हो । यसअघि, पुलिसले गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लबलाई पराजित गरेको थियो ।अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१२, २५–८ र २५–८ को सोझो सेटमा हराएको थियो । एपिएफको लिगमा यो दोस्रो जित हो । एपिएफले आर्मीलाई पनि हराएको थियो । एपिएफको ५ अंक भएको छ ।
महिला न्यु डायमन्ड क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । डायमन्डले २५–१७, २५–१२ र २५–१२ को जित निकालेको हो । न्यु डायमन्डको ६ अंक भएको छ । हेल्प नेपाल क्लबले दोस्रो जित हात पार्यो । हेल्प नेपालले दावाँली मिलन क्लबलाई ३–० सेटमा पराजित गरेको हो ।
छानबिन समिति गठन
आर्मीका खेलाडीले दर्शक कुटेको घटनाका सम्बन्धमा संघले छानबिन गर्ने भएको छ । संघको कार्यसम्पादन समितिको सोमबारै बसेको आपत्कालीन बैठकले महासचिव तथा प्रतियोगिता संयोजक रोशन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । संघले समितिलाई ३० असारसम्म प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अञ्जु श्रेष्ठ र जुनु पुन छन् । ‘संघले घटनालाई गम्भीरतापूर्वक लिएको छ,’ अध्यक्ष चन्दले भने । यसैबीच, गण्डकीले दर्शक कुट्ने खेलाडीमाथि कारबाही हुनुपर्ने मागसहित निवेदन राखेको छ ।