सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई थप पाँच दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
जिल्ला अदालत सप्तरीले यादवलाई ५ दिन थुनामा राखी अनुसन्धान गर्न आइतबार म्याद दिएको हो। नागरिकतासम्बन्धी कसुरमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी गत बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्।
त्यसको भोलिपल्ट बिहीबार प्रहरीले म्याद थपका लागि उनलाई अदालत पेस गरेको थियो। गत बिहीबार अदालतले ३ दिन म्याद थप गरेको थियो। उनका पति महेन्द्रकुमार यादव भने फरार छन्। नागरिकतासम्बन्धी कसुरमा मंगलबार दुवैजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले उपमेयर यादवलाई ५ दिनको म्याद थप भएको जानकारी दिए। ‘उपमेयरविरुद्ध ५ दिनको म्याद थप भएको छ। फरार रहनुभएका उहाँका श्रीमानको खोजी कार्य जारी छ,’ उनले भने, ‘प्रहरीले थप अनुसन्धान गर्दै छ।’
उपमेयर यादव भारतीय नागरिक भएको भन्दै एक स्थानीयले प्रहरीसमक्ष उजुरी दिँदा प्रहरीले अनुसन्धान अगाडि नबढाएपछि गत ५ जेठमा उच्च अदालत जनकपुर, राजविराज इजलासले परमादेश जारी गरेको थियो। त्यसपछि गत आइतबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको हो।
०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बन्दै उपमेयरमा निर्वाचित भएकी मीरा नेपाली नागरिक भए–नभएको अनुसन्धानपछि पुष्टि हुने प्रहरीले जनाएको छ।