फिलोडेन्ड्रोन : यो सदाबहार बिरुवा हो । यसको हेरचाह गर्न सजिलो छ । यसले कोठाको तापक्रमअनुसार आफूलाई ‘एडजस्ट’ गर्न सक्छ । यो प्लान्ट सधैँ सफा देखिन्छ । फिलोडेन्ड्रोन धेरै किसिमका पाइन्छन् । झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । पानीको लेभल कम हुन नदिन वेलावेलामा हेर्नुपर्छ र पानी थपिदिनुपर्छ ।
स्नेक प्लान्ट : यो प्लान्ट झट्टा हेर्दा निकै आकर्षक देखिन्छ । स्नेक प्लान्टले रातमा अक्सिजन फाल्ने भएकाले सुत्ने कोठामा राख्दा राम्रो मानिन्छ । यो प्लान्टले वातावरणको हावा शुद्ध गर्छ भन्ने वैज्ञानिक मान्यता पनि छ । यसले तनावरहित र ऊर्जावान् बनाउन सहयोग गर्छ । यसलाई पहिले पानीमा बिरुवा उमारेपछि मात्र माटोमा सार्नुपर्छ । स्नेक प्लान्टलाई हेरचाह गर्न गाह्रो छैन । यसलाई हल्का घामको आवश्यकता पर्छ । समय–समयमा यसका पात काटिरहनुपर्छ । यो बिरुवालाई एकदमै सुक्खा हुन दिनुपर्छ । यसलाई महिनाको दुईपटक पानी हाल्दा पुग्छ ।
पिस लिली : यसले शान्ति र सौन्दर्य दुवै प्रदान गर्छ । आकर्षक देखिने भएकाले यो प्लान्टलाई घरभित्रै सजाउन सकिन्छ । हरियो पात भएको यो बिरुवा सेतो रङको फुल्छ । फूल फुल्दा यसको सुन्दरता अझ बढी खुलेको देखिन्छ । यसलाई गमलामै रोपिन्छ । विशेष गरी घरको लिभिङ रुममा राख्दा अझ राम्रो देखिन्छ ।
पोथोस : यसको बिरुवालाई विशेष गरी झ्याल, सिँढी वा टेबल, र्याकमाथि राख्न सकिन्छ । यो लहरिएर जान्छ र फैलिन्छ । त्यसकारण पनि डोरीको सहायतामा फैलाउन पनि सकिन्छ । यसले पूरै कोठालाई ताजगी प्रदान गरेको अनुभव गराउँछ । यो प्लान्ट राखेको क्षेत्र उज्यालो हुन्छ । यसलाई बैठक कोठा वा सुत्ने कोठामा सजाउँदा हुन्छ । यसलाई हेरचाह गर्न सजिलो छ । वर्षमा एकपटक कम्पोस्ट मल हाले पुग्छ ।
चामाडोरा पाम, सिफोडिया पाम, फिलडल लिफ, रबर प्लान्ट, मोनेस्टेरालगायत विभिन्न थरीका इन्डोर प्लान्ट्स प्रचलित छन् । सानो कदका इन्डोर प्लान्ट एन्थोरियम, स्पाइकर प्लान्ट, डाइफेनवेसिया, मनी ट्री, जेड जेड प्लान्ट, लक्की बेम्बो, बोन्साइ प्लान्ट, एग्लोनिया, पेडिलेन्यस, जेड प्लान्ट, सालोम आदि विभिन्न थरीका बिरुवा पनि रोप्न सकिन्छ ।