बुढीगण्डकी हाइड्रोपावर प्रालिले प्रवद्र्धन गर्न लागेको सुपर माछाखोला जलविद्युत् आयोजना ४.६ मेगावाट र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता भएको छ । गोरखाको धार्चे गाउँपालिकामा निर्माण गर्न लागिएको आयोजनाको नेतृत्व एनआरएनएका सचिव खगेन्द्र न्यौपाने, अस्ट्रेलियामा व्यवसाय गर्ने जोन घले, युकेमा व्यवसाय गर्ने इन्द्र ढकाललगायतले गरेका छन् ।
सञ्चालक समितिमा कृष्ण घिमिरे र सरोज धिताल रहेका छन् । यो टिममार्फत यसअघि सोही क्षेत्रमा विकास हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको ४.५ मेगावाटको आयोजना सम्पन्न गरिसकेको छ ।
आयोजनाको वित्तीय व्यवस्थापन करिब तीन वर्षमा सक्ने लक्ष्य राखिएको सञ्चालक सदस्य सरोज धितालले जानकारी दिए । बिहीबार नेपाल विद्युत् प्राधिकरणका अनुगमन तथा सुपरिवेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके र कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेबीच पिपिए भएको हो ।