प्रतिपक्षले भ्रामक प्रचारबाजी गरेको भन्दै माओवादीको आपत्ति

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रीतम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट भ्रामक प्रचारबाजी गरेको भन्दै आपत्ति जनाएको छ । उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बिहीबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभीष्टताबाहेक केही नभएको बताएका छन् ।

‘सरदार सिंहबाट आफूलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहेको र त्यसका लागि उनले सक्दो योगदान गरेको यथार्थता प्रकट गर्ने प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रतिपक्ष दलको कुत्सित चाहना पूरा गर्ने अभीष्टताबाहेक केही होइन,’ विज्ञप्तिमा छ । 

राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको महराले बताएका छन् । उनले राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिन अपिलसमेत गरेका छन् । ‘मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटक–पटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानबिन र फाइल खोल्दा गैरजिम्मेवार बन्नेजस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्,’ महराले विज्ञप्तिमा भनेका छन्, ‘तथापि, पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउँ पाऊँ, कनिका बुकाऊँ’ भनेजस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ र राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायमा हार्दिक अपिल गर्दछ ।’

See More On

सुझावित समाचार