१२ वर्षपछि नेदरल्यान्ड्सले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको छ । जिम्बावेको बुलावायोमा नेदरल्यान्ड्सले स्कटल्यान्डमाथि चार विकेटको जित निकाल्दै विश्वकपको टिकट पक्का गरेको हो । यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा दुई टोली निश्चित भएका छन् ।
श्रीलंका र नेदरल्यान्ड्सले विश्वकप खेल्नेछन् । ग्लोबल छनोटअन्तर्गत सुपर सिक्सको शीर्ष दुई स्थानमा रहने राष्ट्र विश्वकपमा छनोट हुने प्रावधान छ । श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका हुन् । सन् २०११ मा नेदरल्यान्ड्सले अन्तिमपटक विश्वकप खेलेको थियो । जिम्बावे, आयरल्यान्ड तथा वेस्ट इन्डिजले विश्वकपमा स्थान बनाउन सकेनन् ।
४४ ओभरमा २७८ रनको लक्ष्य
नेदरल्यान्ड्स र स्कटल्यान्डमध्ये एक विश्वकपमा पुग्ने समीकरण बनेको थियो । नेदरल्यान्ड्सले ४४ ओभरभित्र लक्ष्य पूरा गर्दा विश्वकपमा पुग्ने थियो । ४४ ओभरभित्र नेदरल्यान्ड्सले जित निकाल्न नसक्दा स्कटल्यान्डले भारतमा आयोजना हुने विश्वकप खेल्ने थियो । बुलावायो मैदानमा स्कटल्यान्डले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाएर २७७ रनको बलियो योगफल खडा गर्यो ।
नेदरल्यान्ड्सले प्राप्त लक्ष्य ४२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्दै विश्वकपमा स्थान सुरक्षित गर्यो । नेदरल्यान्ड्सले ४३ बलअघि नै स्कटल्यान्डलाई स्तब्ध पारेको हो । जितसँगै नेदरल्यान्ड्सले सुपर सिक्सको पाँच खेलमा ६ अंक बटुल्यो । शीर्ष स्थानमा रहेको श्रीलंकाले चार खेलबाट ८ अंक जोडेको छ । स्कटल्यान्डले समान पाँच खेलबाट ६ अंक जोडेको छ । रनरेटमा स्कटल्यान्ड नेदरल्यान्ड्सँग पछि पर्दा विश्वकप खेल्ने सपना पूरा भएन ।
दुई महत्वपूर्ण साझेदारी
नेदरल्यान्ड्सको ब्याटिङमा सातौँबाहेक पहिलो र पाचौँ विकेटका लागि पनि महत्वपूर्ण साझेदारी भएको थियो । ओपनर ओ ड्वाड र विक्रमजित सिंहले पहिलो विकेटका लागि ७७ बलमा ६५ रनको साझेदारी गरेका थिए । विक्रमजितले ४९ बलमा ६ चौका प्रहार गरी ४० रन जोडे । ड्वाडले ३४ बलमा तीन चौकाको सहयोगमा २० रन बटुले । खेलका नायक बनेका लिडेले एडवाड्ससँग पाँचौँ विकेटका लागि ४५ बलमा ५५ रनको साझेदारी गरे । कप्तान एडवाड्सले २३ बलमा तीन चौकाको सहयोगमा २५ रनको योगदान दिए । नेदरल्यान्ड्सले १५ अतिरिक्त रन पाएको थियो । बलिङतर्फ स्कटल्यान्डका माइकल लिआस्कले ४२ रन खर्चेर दुई विकेट हात पारे ।
ब्रान्डनको शतक ओझेलमा
स्कटल्यान्डको ब्याटिङमा तेस्रो क्रममा ब्याटिङ गरेका ब्रान्डनले शतकीय इनिङ्स खेलेका थिए । इनिङ्सको चौथो बलमै स्कटल्यान्डले विकेट गुमाएको थियो । त्यसपछि ब्रान्डनले लगातार दुई विकेटका लागि गतिलो साझेदारी गरे । उनले म्याकब्रिडेसँग दोस्रो विकेटका लागि ६२ बलमा ४५ रनको साझेदारी गरे । मुन्ससीसँग तेस्रो विकेट निमित्त उनले १८ रनको साझेदारी गरेका थिए । स्कटल्यान्डको ब्याटिङमा बेरिटङन र ब्रान्डनबीच चौथो विकेटका लागि एक सय ३७ रनको साझेदारी भएको थियो ।
यी दुवै ब्याट्सम्यानले स्कटल्यान्डलाई ६४–३ बाट २०१–४ को बलियो स्थितिमा पुर्याए । स्कटल्यान्डले ब्रान्डनलाई ३७.२ ओभरमा गुमाएको थियो । उनले ११० बलमा ११ चौका र तीन छक्का प्रहार गरी १०६ रनको योगदान दिए । कप्तान बेरिटङनले ८४ बलमा ६४ रन जोड्दा तीन चौका र दुई छक्का प्रहार गरेका थिए । सातौँ क्रमका ब्याट्सम्यान टोमासले २८ बलमा पाँच चौका प्रहार गरी ३८ रन जोडे । बलिङमा डे लिडेले १० ओभरमा ५२ रन खर्चेर पाँच विकेट लिए ।
लिडेको अलराउन्ड प्रदर्शन
एक दशकपछि नेदरल्यान्ड्सलाई विश्वकपमा पुर्याउन बास डे लिडेले अलराउन्ड प्रदर्शन गरेका थिए । उनकै एकल प्रदर्शनका कारण नै नेदरल्यान्ड्सले सुपर सिक्सको दोस्रो स्थान सुरक्षित गरेको हो । बलिङका क्रममा उनले पाँच विकेट लिएका थिए । लक्ष्य पछ्याउँदा लिडेले ९२ बलमा १२३ रनको योगदान दिए । नेदरल्यान्ड्सको जितमा सातौँ विकेटको साझेदारी नै मुख्य आधार थियो । लिडे र सकिव जुल्फिकरले सातौँ विकेटका लागि ६९ बलमा एक सय १३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई असम्भव जित दिलाए । म्याच विनिङ साझेदारीमा सकिबले ३० बलमा ३२ रन मात्र जोडेका थिए ।
लिडेले ३९ बलमा ७६ रनको विस्फोटक इनिङ्स खेले । लिडेले आफ्नो इनिङ्समा सात चौका र पाँच छक्का प्रहार गरे । सकिबले तीन चौका र एक छक्का प्रहार गरे । स्कटल्यान्डले ४० ओभरसम्म पनि खेल नियन्त्रणमा राखेको थियो । तर, ४१औँ र ४२औँ ओभरमा स्कटल्यान्डका बलर खर्चिलो हुँदा नेदरल्यान्ड्सले सनसनी जित निकाल्यो । नेदरल्यान्ड्सले ४१औँ ओभरमा २२ र ४२औँ ओभरमा २० रन बटुलेपछि सुपर सिक्सको दोस्रो स्थान पक्का पार्यो । यी दुई ओभरमा लिडेले चार छक्का प्रहार गरेका थिए ।
युएई १ रनले विजयी
ग्लोबल छनोटअन्तर्गत नवौँ स्थानको प्लेअफ खेलमा युएईले अमेरिकालाई १ रनले हराएको छ । हरारेमा युएईले पहिलो ब्याटिङ गरी ५० ओभरमा चार विकेटको क्षतिमा ३०८ रन बनाएको थियो । प्रत्युत्तरमा अमेरिकाले ५० ओभरमा नौ विकेटको नोक्सानीमा ३०७ रन जोड्दा युएईले १ रनको रोमाञ्चक जित निकालेको हो । विश्वकप ग्लोबल छनोटमा अमेरिकाले दशौँ स्थान प्राप्त गरेको छ । आयरल्यान्ड सातौँ र नेपाल आठौँ स्थानमा रहे ।
अमेरिकलाई अन्तिम ओभरमा ११ रन आवश्यक थियो । युएईबाट सञ्चित शर्माले अन्तिम ओभर बलिङ गरेका थिए । इनिङ्सको ४९.४ र ४९.६ ओभरमा विकेट लिँदै उनी युएईलाई रोमाञ्चक जित दिलाउन सफल भए । यसअघि पहिलो ब्याटिङ गरेको युएईका लागि आसिफ खानले १४५ बलमा १५१ रनको शतकीय इनिङ्स खेलेका थिए ।