सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब आफ्नो निर्णयबाट पछि हटेको छ । एपिएफले गत आइतबार आफ्ना ११ राष्ट्रिय महिला खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रशिक्षणमा नपठाउने निर्णय गरेको थियो । जसका कारण एपिएफका महिला खेलाडीले तीन दिनदेखि प्रशिक्षण गर्न पाएनन् । एपिएफमा राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा, स्ट्राइकर सावित्रा भण्डारी, सरु लिम्बू, अनिता केसी, गीता राना, हिराकुमारी भुजेलसहित अधिकांश खेलाडी आबद्ध छन् ।
एपिएफका ११ खेलाडी प्रशिक्षणमा सहभागी नहुँदा २८–३१ असारसम्म बंगलादेशमा हुने दुई मैत्रीपूर्ण फुटबल प्रतियोगिता अनिश्चित बनेको थियो । बंगलादेशसँगको मैत्रीपूर्ण खेलबारे एन्फा अन्योलमा रह्यो । एन्फा सिनियर खेलाडी र यू–२० राष्ट्रिय टोलीमध्ये एक ढाका पठाउने अवस्थामा पुगेको थियो । व्यापक विरोधपछि एपिएफले बुधबार आफ्नो पूर्ववत् निर्णय सच्याएर आफ्नो मातहतमा रहेका खेलाडीलाई प्रशिक्षणमा पठाएको छ ।
यससँगै एपिएफका ११ राष्ट्रिय महिला खेलाडीले सातदोबाटोस्थित एन्फाको होस्टेलमा बसेर प्रशिक्षण सुरु गरेका छन् । एपिएफका महत्वपूर्ण ११ खेलाडीले बंगलादेशसँग खेल्ने पक्का भएको छ । ‘एपिएफले आफ्ना खेलाडी प्रशिक्षणमा पठाएको छ । पहिलो दिनको प्रशिक्षण सम्पन्न भयो,’ एन्फाका प्रवक्ता सुरेश शाहले नयाँ पत्रिकासँग भने ।
मुख्य प्रशिक्षक अनन्तराज थापाले खेलाडी प्रशिक्षणमा फर्किएकोमा खुसी जनाएका छन् । ‘खेलाडी राष्ट्रको सेवामा फर्किएका छन्, यो सबैलाई खुसीको समाचार हो,’ थापाले भने, ‘अब बंगलादेशविरुद्ध राम्रो नतिजा निकाल्न तयारी गर्नुपर्छ ।’ पहिलो दिनको प्रशिक्षणमा ३० खेलाडी उपस्थित रहेको थापाले बताए । एक हप्ताको प्रशिक्षणपछि २३ खेलाडी नाम सार्वजनिक हुनेछ ।
प्रशिक्षक विवाद कायमै
चीनको होन्जाउमा ६ असोजबाट हुने १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)का लागि महिला टोलीको प्रशिक्षण चलिरहेको छ । नेपालले एसियाडकै तयारीका रूपमा बंगलादेशसँग अभ्यास खेल्न लागेको हो । एसियाड खेल्ने र बंगलादेशविरुद्ध खेल्ने नेपाली खेलाडी पनि एकै हुन् । प्रशिक्षकबारेको विवाद समाप्त भएको छैन । अहिले नेपाली टोलीलाई एन्फाबाट प्रशिक्षक अनन्तराज थापाले प्रशिक्षण दिइरहेका छन् । अर्काेतर्फ, बालगोपाल महर्जन र अरुणा गुरुङले पनि प्रशिक्षण गराएका छन् ।
एन्फाले आफ्नो माग बेवास्ता गरेको भन्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले गत आइतबार आफ्ना ११ महिला खेलाडीलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा नपठाउने निर्णय गर्यो, तर व्यापक विरोधपछि बुधबार आफ्नो पूर्ववत् निर्णय सच्याएर खेलाडीलाई प्रशिक्षणमा पठाएको छ
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एसियाडमा भाग लिने २९ खेलको तयारीदेखि सम्पूर्ण खर्च बेहोर्नेछ । राखेप सदस्यसचिव टंकलाल घिसिङले २९ संघलाई नै आफ्नो तयारी आफैँ गर्न भनेका छन् । राखेपले आवश्यक खर्च भुक्तानी गर्नेछ । ‘खेलाडीको प्रशिक्षण सम्बन्धित संघले गराउने हो, राखेपले संघलाई नै प्रशिक्षणको जिम्मेवारी दिएको छ,’ सदस्यसचिव घिसिङले भने, ‘खेलाडीको छनोट संघले नै गर्ने हो, यसमा संघसँग बायस हुनुपर्ने छैन ।’ महिला फुटबलको प्रशिक्षकबाहेक अन्य खेलमा विवाद छैन ।
एनफाबाट मुख्य प्रशिक्षकमा थापा र राखेपबाट मुख्य प्रशिक्षक गुरुङ नियुक्त भएका छन् । तर, गुरुङले सदस्यसचिव घिसिङको निर्देशन लत्याउँदै करारमा रहेका प्रशिक्षक महर्जनलाई प्रशिक्षणमा झिकाएकी छिन् । दुई प्रशिक्षकले प्रशिक्षण गराउँदा खेलाडी अन्योलमा छन् । ‘महिला फुटबलको प्रशिक्षणमा देखिएको प्रशिक्षक विवाद चाँडै समाप्त हुनुपर्छ, यसको असर खेलाडीमाथि हुनेछ,’ एन्फाका एक पदाधिकारीले भने, ‘विवाद कायम रहँदा प्रशिक्षण प्रभावकारी हुन सक्दैन ।’
एन्फाभित्रै किचलो
राष्ट्रिय महिला टोलीको प्रशिक्षण नै प्रभावित हुनुमा एन्फाभित्रकै आन्तरिक किचलो मुख्य कारण मानिन्छ । अहिले एन्फाभित्र दुई गुट देखिएका छन् । गत वर्षको ६ असारमा पंकजविक्रम नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । उनले एक वर्षभित्र पदाधिकारीलाई सन्तुलनमा राख्न सकेनन् ।
महिला प्रशिक्षणमा त्यही प्रभाव देखिएको हो । एन्फाका महिला सदस्यद्वय पेमा लामा र सरिला श्रेष्ठबीच राम्रो सम्बन्ध छैन । राखेपको बोर्ड सदस्य पेमा अहिले एन्फा संस्थापकइतर समूहबाट छिन् । लामा एन्फाको महिला फुटबल संघकी अध्यक्ष हुन् । श्रेष्ठ अध्यक्ष नेम्वाङनिकट मानिन्छिन् । अध्यक्ष पंकजले श्रेष्ठलाई एएफसी महिला कमिटीमा नियुक्त गराउन र महिला फुटबल समिति मनोनीत गर्न मुख्य भूमिका निर्वाह गरेका थिए । कर्माछिरिङ शेर्पाको चारवर्षे कार्यकालमा पेमाको महिला फुटबलमा दबदबा थियो । ‘अहिलेको प्रशिक्षण विवादमा एन्फाभित्रै आन्तरिक द्वन्द्व मिसिएको छ । श्रेष्ठ र लामाले एकअर्काको अस्तित्व स्विकार्दैनन्,’ ती एन्फा पदाधिकारीले भने ।
‘म्याच फिक्सिङ’ विवाद
एपिएफले आफ्नो उजुरीमाथि एन्फाले प्रतिक्रिया नजनाएको भन्दै महिला खेलाडीलाई प्रशिक्षणमा रोक लगाएको थियो । २७ जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट एपिएफ ०६२ पछि ‘बी’ डिभिजनमा घटुवा भएको थियो । रेलिगेसनमा परेपछि एपिएफले लिगका दुई खेलमा ‘म्याच फिक्सिङ’ भएको र तीनपटकको च्याम्पियन थ्री स्टारले गैरकानुनी रूपमा विदेशी खेलाडीलाई मैदानमा उतारेको आरोप लगाउँदै आएको छ । एन्फाले सोमबार ‘उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढेको’ भन्दै खेलाडी फर्काउन एपिएफसँग अनुरोध गरेको थियो ।
एपिएफले चर्च ब्वाइज–थ्री स्टारबीचको खेलको नतिजा मिलेमतोमा आएको दाबी गरेको छ । यसैगरी, संकटा–फ्रेन्ड्स क्लबबीचको खेलमा पनि मिलेमतो भएको एपिएफको भनाइ छ । २३ जेठमा चर्च ब्वाइजले थ्री स्टारसँग गोलरहित बराबरी खेलेको थियो । २४ जेठमा संकटा र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेले । थ्री स्टारले भिसा सकिएका विदेशी खेलाडी अजयी मार्टिन्स र पिटर सेगुन मैदान उतारेको आरोप एपिएफको छ ।