इस्ट जोन कपमा नेपालको ह्याट्रिक

नरेन भट्टले ११२ रन तथा अभिषेक तिवारीले पाँच विकेट लिएपछि यू–१६ इस्ट जोन कपको फाइनलमा मलेसिया २२१ रनले पराजित

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा उपाधिमाथि ह्याट्रिक गरेको छ । मलेसियाको बायुमास क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा नेपालले आयोजकलाई दुई सय २१ रनको फराकिलो अन्तरले हराउँदै लगातार तेस्रोपटक उपाधि हात पारेको हो । नेपालले सन् २०१७ र २०१९ मा पनि ट्रफी उचालेको थियो । अघिल्ला दुई संस्करणमा एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिताको नाम यू–१६ इस्टर्न रिजन राखेको थियो । यसैपटकबाट यू–१६ इस्ट जोन कप नामकरण भएको हो । 

बायुमास मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ५२ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा मलेसिया १४.५ ओभरमा ३१ रनमै समेटिँदा नेपाल फराकिलो अन्तरले विजयी भएको हो । नेपाली युवा खेलाडीले मलेसियाविरुद्ध ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । ब्याटिङका क्रममा नरेन भट्टले शतक तथा बलिङमा अभिषेक तिवारीले पाँच विकेटको प्रदर्शन गरे ।

नरेनको सानदार शतक
ब्याटिङ पिचमा तेस्रो क्रमका ब्याट्सम्यान नरेनले शतकीय इनिङ्स खेल्दा नेपालले प्रतिओभर ७ रनरेटमा रन बटुलेको थियो । नरेनले केवल ८९ बलमा एक सय १२ रनको योगदान गरे । उनले १० चौका र दुई छक्का प्रहार गरे । इनिङ्सको अन्तिमसम्म नटआउट रहेका नरेनलाई सन्तोष यादव र अशोक धामीले गतिलो साथ दिएका थिए । नरेनले नीरजकुमार यादवसँग दोस्रो विकेटका लागि ५५ बलमा ५५ रनको साझेदारी गरे । 

नरेनले पाँचौँ विकेटका लागि सन्तोष यादवसँग १०३ रनको साझेदारी गर्न सफल भए । सन्तोष र नरेनबीच ७६ बलसम्म साझेदारी भएको थियो । यी दुवै ब्याट्सम्यानले नेपाललाई ११२–४ बाट २१६–५ को बलियो स्थितिमा पुर्‍याए । त्यसपछि नरेनले अशोकसँग साँतौँ विकेटका लागि १३ बलमा २५ रन जोडे । सन्तोषले २९ बलमा दुई चौका प्रहार गरी २६ रन बनाए । अशोकले ७ बलमा एक छक्का प्रहार गरी ११ रन जोडे । नेपालको ब्याटिङमा नीरजकुमार यादवले ४७ रन जोडेका थिए । 

अभिषेकले लिए पाँच विकेट
विशाल लक्ष्य पछ्याएको मलेसियाले नेपालका युवा फास्ट बलर अभिषेकको घातक बलिङ सामना गर्न सकेनन् । अभिषेकले ६ ओभरमा केवल सात रन खर्चेर पाँच विकेट हात पारे । उनले आफ्नो स्पेलमा एक मेडन राखेका थिए । उनले प्रतिओभर १.१७ रनरेटमा बलिङ गरेका थिए । अभिषेकले मलेसियाका शीर्ष चार ब्याट्सम्यानलाई पेभेलियन फर्काए । अभिषेकको बलिङअगाडि टिक्न नसकेका मुहमद ०, मुहमद आलिफ २, हमजाह पान्गी ० र मोहमद हैरिलले ४ रन बनाए । अभिषेकले इनिङ्सको ०.१ र ०.५ ओभरमा विकेट लिएका थिए । 

मलेसियाले पाँच विकेट गुमाउँदा स्कोर बोर्डमा १८ रन मात्र जोडेको थियो । त्यसवेला ७.६ ओभर चलिरहेको थियो । मलेसियाले थप पाँच विकेट १३ रनभित्र गुमाएको थियो । मलेसियाको ब्याटिङमा पाँचजनाले रन नै बनाएनन् । मलेसियाका लागि मुहमद अक्रमले सर्वाधिक १० रन जोडे । घरेलु टोलीको ब्याटिङमा एक मात्र छक्का अक्रमले नै प्रहार गरेका थिए । नेपालका लागि सन्तोष यादवले तीन ओभरमा नौ रन खर्चंदै तीन विकेट लिए । उनले आफ्नो स्पेलमा दुई मेडन राखेका थिए । अशोकले ०.५ ओभर बलिङ गरी एक रन खर्चंदै एक विकेट हात पारे ।

सुझावित समाचार