यसरी कमजोर बन्छ लोकतन्त्र

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

आफ्नो कुकार्यलाई ढाकछोप गर्न सबै तानाशाहले इमानदारीको आवरण कायम राख्छन् 

हालैका वर्षमा हामी सत्योत्तर ( पोस्ट ट्रुथ) अनि तथ्योत्तर (पोस्ट–फ्याक्ट) युगमा बाँचिरहेका छौँ भन्दा अप्रचलित सुनिन सक्छ । बेलायतमा ब्रेक्जिट जनमत संग्रह र पूर्वप्रधानमन्त्री बोरिस जोनसनको अनौठो उत्थान र पतनले सत्यको संकटलाई राजनीतिक बहसको अग्रभागमा स्थापित गर्यो । संयुक्त राज्य अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उथलपुथलपूर्ण कार्यकालको दौरान र राष्ट्रपतित्वपश्चात् पनि निरन्तर झुट बोलिरहे, जसले अमेरिकी लोकतन्त्रका संरचनामा अभूतपूर्व खतरा खडा गरेको छ ।

वासिंटन पोस्टका अनुसार ह्वाइट हाउसको आफ्नो चारवर्षे कार्यकालमा ट्रम्पले ३० हजार पाँच सय ७३ वटा झुट बोले । एक दिनमा उनले औसतमा २१ वटा झुटा दाबी गरे । निःसन्देह ट्रम्पले आफ्नो कार्यकाललाई एउटा सबैभन्दा भयानक झुटसहित समापन गरे– उनले सन् २०२० को चुनाव जितेको दाबी गरे । वास्तवमा, उनी जितको नजिकसमेत थिएनन् । अमेरिकी राष्ट्रपति जो बाइडनले ३०६ इलेक्टोरल कलेज मत प्राप्त गरे भने उनको लोकप्रिय मत पनि ७० लाखभन्दा बढी थियो ।

ट्रम्पको भनाइमा बाइडेनका दसौँ लाख मत फर्जी थिए र राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टी र डेमोक्र्याट बहुल राज्यले ठूलो षड्यन्त्र गरी धाँधली गरियो । यो षड्यन्त्र सिद्धान्त विगत साढे दुई वर्षमा पूर्ण रूपमा खारेज भइसकेको छ । तथापि, धाँधली गरेर चुनाव जितेको भाष्य रिपब्लिकन मतदातामाझ अझै व्याप्त छ र यसले सम्भवतः ट्रम्पलाई सन् २०२४ मा नामांकनका लागि अघि सर्न मद्दत गर्नेछ । जोनसनको झुट ट्रम्पजति भयानक थिएनन् । अन्ततः उनले पनि ट्रम्पलाई भेट्टाए : कोभिड–१९ लकडाउन नियम उल्लंघन गर्नेबारे संसद्लाई गलत प्रस्तुति दिएर भ्रमित बनाउन खोज्दा उनको पतन भयो । उल्लेखनीय के भने बेलायतको संसद्ले झुटलाई विशेष रूपमा गम्भीरतापूर्वक लिन्छ । उदाहरणका लागि, संसद्मा सांसदलाई झुटो बोलेको आरोप लगाउनु अस्वीकार्य मानिन्छ, किनभने माननीयहरूले कहिल्यै यस्तो आचरण गर्दैनन् भन्ने ठानिन्छ ।

तर के इमानदारी अथवा इमानदार हुने प्रयासले अझै पनि अर्थ राख्छ ? जोनसन नै झुट बोल्ने पहिलो बेलायती राजनीतिज्ञ भने होइनन् । निःसन्देह बेलायती राजनीतिका स्वनामधन्य ठूला नेता छलकपटमा लिप्त छन् । यद्यपि, केही झुट आफ्नो फाइदाका लागि र केही सामाजिक सद्भाव कायम राख्न बोल्नु पनि पर्ने हुन सक्छ भनेर प्लेटो र सुकरातले ‘पावन झुट’को अवधारण अघि सारेका छन् । उदाहरणका लागि, मुद्राको अवमूल्यन गर्नुपर्ने स्थितिमा पनि निर्माताहरूले जनआक्रोश छल्न यसलाई इन्कार गर्न सक्छन् ।  निःसन्देह, यस तर्कमा त्रुटि छन् । उदाहरणका लागि, सन् १९५६ मा बेलायती प्रधानमन्त्री एन्थोनी इडेनले स्वेज संकटको सम्बन्धमा बेलायत एक्लैले त्यहाँ सैन्य हस्तक्षेप गरेको कुरामा बारम्बार जोड दिँदै संसद्मा झुट बोलेका थिए । वास्तवमा, बेलायतले फ्रान्स र इजरायलसँग मिलेर इजिप्टमाथि यस असफल आक्रमणको योजना बनाएको थियो । सायद इडेनले महारानी एलिजाबेथ द्वितीयलाई पनि यस अपमानजनक पराजयबारे झुटै बताएका थिए । यी झुटले साँच्चै सार्वजनिक हित गर्छन् कि गर्दैनन् भन्नेमा चाहिँ शंका छ ।

त्यसको लगभग आधा शताब्दी पछि तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले विनाशकारी इराक युद्धमा बेलायत प्रवेश गर्नुको कारणबारे पनि सत्यभन्दा बढी झुट नै बोले । ब्लेयर सामान्यतया निष्ठाका लागि चिनिन्छन् । पूर्वनिर्धारित योजनाअनुकूल हुने गरी वास्तविक खुफिया सूचनामा तोडमोड गरियो, जबकि उनले बेलायतले आफ्ना अमेरिकी सहयोगीलाई सहयोग गर्नु अति महत्वपूर्ण थियो भनेर उचित ठहर्याउन खोजे । यसमा केही सत्यता हुन पनि सक्छ, तर बचाउमा दिइएका तर्क निम्छरा लाग्छन् । हुन त इम्मानुएल कान्टले भनेझैँ सत्य र स्वतन्त्रता अभिन्न रूपमा जोडिएका हुन्छन् । सर्वसत्तावादी वा अधिनायकवादी शासनका आचरणलाई खुला लोकतान्त्रिक समाजसँग तुलना गर्दा यो सम्बन्ध विशेषगरी स्पष्ट हुन्छ । तानाशाहीमा नेतृत्वले जे–जस्ता भाष्यले आफ्ना कार्यलाई उचित देखाउन सहयोग गर्छ जस्तो लाग्छ, त्यही भाष्य फैलाउँछन् । त्यहाँ असहमति कदापि सह्य हुँदैन । यसरी नै जोसेफ स्टालिनले सन् १९३२–३३ मा लाखौँ युक्रेनीको ज्यान लिएको अनिकालको त्रासदी ‘होलोडोमोर’लाई उचित ठहर्याउन सके । एडोल्फ हिटलरले लाखौँ यहुदीहरूको हत्याको त्रासदीलाई उचित देखाउन सके । अभिव्यक्ति स्वतन्त्रता, पारदर्शिता र राजनीतिक प्रतिपक्षीको अभावमा सत्यभाषण भन्ने कुरा यी तानाशाहको कार्यसूचीमै पर्न सकेन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’को सन्दर्भमा जवाफदेहिताबाट बच्न सफल हुनुपछिको एउटा कारण पनि यही हो । त्यसैगरी झुटकै सहारामा चिनियाँ राष्ट्रपति सी चिनफिङले सिन्जियाङका उइगुरहरूलाई आतंकवादी बन्नबाट रोक्न पुनः शिक्षा दिइरहेको दाबी गर्न सकेका छन् । जर्ज अर्वेलको एनिमल फार्मका शासक (सुँगुर) नेपोलियनले जस्तै सबै तानाशाहले आफ्नो कुकार्यलाई ढाकछोप गर्न इमानदारीको आवरण कायम राख्छन् ।

खुला समाजहरू प्रेस स्वतन्त्रता, सशक्त बहस र तथ्यमा आधारित नीति निर्माणमा मौलाउँछन् । उदारवादी लोकतन्त्र यो आदर्शमा सधैँ खरो उत्रन नसके पनि यसरी नै चल्नुपर्छ भन्ने मान्यता राख्छन् । यो अपेक्षा उल्लंघन गर्ने नेतालाई मतदाताहरूले हटाउन सक्छन् भन्ने बुझाइ नै उदारवादी लोकतन्त्रको शक्तिको स्रोत हो ।

जब उदारवादी लोकतन्त्रहरूले आफ्ना आधारभूत मूल्यलाई नजरअन्दाज गर्छन्, तब तिनको अस्तित्वलाई बलियो बनाउने संस्थागत र बौद्धिक नियन्त्रण एवं सन्तुलनहरू अनिवार्य रूपमा भत्किन पुग्छन् । एकपटक झुट राजनीतिक विमर्शको सामान्य अंगका रूपमा स्वीकार भइसकेपछि, डेमोगग (छद्म लोकतन्त्रवादी)हरूले झुटको सहनलाई दोहन गर्न थाल्छन् । ढिलो–चाँडो अदालतहरू कमजोर हुन्छन्, विपक्षी पार्टीहरू किनाराकृत गरिन्छन् र भ्रष्टाचार बढ्दो रूपमा व्याप्त हुन्छ । अन्ततः विश्वास टुट्छ र लोकतन्त्रका तन्तु खुस्किन्छन् ।

(प्याटन हङकङका अन्तिम बेलायती गभर्नर हुन् । द हङकङ डायरिजका लेखक प्याटन अक्सफोर्ड विश्वविद्यालयका चान्सलर हुन् ) 
 

सुझावित समाचार