कोसीमा नयाँ सरकार गठनको गृहकार्य, नेतृत्वमा हानथाप

मुख्यमन्त्रीका लागि कांग्रेस र माओवादीको आ–आफ्नै दाबी

शनिबार, १६ असार, २०८०
डिजिटल संस्करण
कोसीमा नयाँ सरकार गठनको गृहकार्य, नेतृत्वमा हानथाप

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावमा मतदान गर्दै सत्तापक्षका सदस्य । तस्बिर : रासस

विश्वासको मत पाउन नसकेर एमाले नेतृत्वको सरकार ढलेसँगै कोसीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । तर, सरकारको नेतृत्व कसले लिने भन्नेबारे गठबन्धनभित्रै हानथाप छ । 

माओवादी र जसपा एक महिनाअघि सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार प्रदेश सभामा शक्ति परीक्षण गराएका थिए । तर, विश्वासको मत विभाजनमा उपस्थित ८९ सांसदमध्ये ४६ मत मात्र पाएपछि उनी नेतृत्वको सरकार गुमेको छ । 

बहुमतका लागि ४७ मत पाउनुपर्नेमा उनको पक्षमा ४६ र विपक्षमा ४३ मत खसेका थिए । जसपाकी निर्मला लिम्बू अनुपस्थित रहिन् भने माओवादीका प्रमुख सचेतक नारायण बुर्जामगर र कांग्रेसकी मीना तामाङ अस्वस्थ भएको भन्दै मतदानमा अनुपस्थित रहे । 

एमाले संसदीय दलका नेता कार्की २४ पुस ०७९ मा माओवादी, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, संघमा समीकरण फेरिनुका साथै पहिचानसहितको नामकरणको विषयले जसपा र माओवादी सरकारबाट बाहिरिएका थिए । अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले ३१ जेठमा नीति तथा कार्यक्रम र ३२ जेठमा अध्यादेशमार्फत बजेट प्रस्तुत गरेर प्रदेश सभाको बर्खे अधिवेशन अन्त गराएका थिए ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएको पत्र प्रदेश सभा सचिवालयबाट प्राप्त भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङ परामर्शमा जुटेका छन् । सम्भवतः उनी शनिबार नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारीमा छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले समयसीमा दिएर शनिबार वा आइतबार प्रदेश प्रमुखबाट नयाँ सरकारका लागि आह्वान हुने बताए । 

संसदीय अंकगणित के छ ? 
कोसीमा नयाँ सरकार गठनको अंकगणित निकै जटिल छ । सरकार बनाउन बहुमतको अंक ४७ हो । तर, सभामुखबाहेक सत्तागठबन्धनसँग र एमाले–राप्रपासँग ४६–४६ सांसद छन् । सरकार गठनमा सभामुखको भूमिका के हुन्छ ? यसले धेरै विषय निर्धारण गर्नेछ । 

९५ सदस्यीय प्रदेश सभामा हाल एमालेका ४० र राप्रपाका ६ जना गरी यो गठबन्धनमा ४६ सांसद छन् । त्यसैगरी, कांग्रेसका २९, माओवादीका १२, एकीकृत समाजवादीका चार र जसपाका एक गरी सत्तागठबन्धनमा पनि ४६ सांसद छन् । सभामुख माओवादीबाट निर्वाचित हुन् । 

सरकार बनाउन ४७ जना सांसद चाहिन्छ । सभामुखले निर्णायक मत हाल्न पाउने संवैधानिक प्रावधान छ । सत्तागठबन्धनले सभामुखको हस्ताक्षरसहित सरकार बनाउन दाबी गर्ने तयारी गरेको छ । प्रदेश प्रमुख खापुङ आफ्नै पक्ष (जसपा)बाट भएकाले गठबन्धनले सभामुखसहितको हस्ताक्षर संकलन गरेर नयाँ सरकारका लागि प्रस्ताव पेस गर्न सक्नेछ । 

कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा सोभन्दा धेरै दलको सरकार बनाउन आह्वान गरेपछि नयाँ सरकारका लागि सभामुखको हस्ताक्षरसहित दाबी पेस गर्ने बताए । ‘निर्णायक अवस्थामा सभामुखले मत दिन पाउने व्यवस्था छ, सभामुखलाई राजीनामा गराइरहनुपर्ने आवश्यकता छैन,’ उनले भने ।

तर, एमालेले भने नयाँ सरकार गठनका लागि दाबी गर्दा सभामुखको हस्ताक्षर प्रयोग गर्न नमिल्ने बताएको छ । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान भएमा पनि दाबी पेस गर्दा सभामुखलाई गणना गर्न नमिल्ने बताउँछन् । यसबारे प्रदेश प्रमुखलाई अवगत गराइएको उनले बताए ।

सभामुखको हस्ताक्षरलाई मुद्दा बनाएर एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको ठूलो दलको नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने रणनीति बनाएको छ । विश्वासको मत नपाएपछि मुख्यमन्त्रीसहित एमाले सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । 

राप्रपा सरकारमा नआएमा कोसी प्रदेशको राजनीति फेरि पनि गिजोलिन सक्ने अनि के हुन्छ र कस्तो परम्परा विकास हुन्छ भन्ने अहिले नै भन्न नसकिने संसदीय मामिलाका जानकार अधिवक्ता कोषराज न्यौपाने बताउँछन् । यद्यपि, विश्वासको मत लिन असफल भएका मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउन सकिने प्रस्ताव पनि गरेका थिए । तर, केन्द्रीय गठबन्धनले गर्दा उनको त्यो प्रस्ताव कार्यान्वयन हुने अवस्था न्यून रहेको अधिवक्ता न्यौपाने बताउँछन् । 

मुख्यमन्त्रीका लागि कांग्रेस र माओवादीको आ–आफ्नै दाबी 
कोसीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धन नयाँ सरकार बनाउने दौडमा छ । तर, नयाँ सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादीको हानथाप छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्रीका लागि दौडधुपमा छन् । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र लावती गठबन्धनको ठूलो दल भएकाले कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउँछन् । ‘सरकारको नेतृत्वका लागि हामीले दलबाट निर्णय नै गरिसकेका छौँ, अब पछि हट्ने कुरै हुँदैन,’ उनले भने । 

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो अन्य प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनिसकेकाले कोसीमा माओवादीकै नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गर्छन् । ‘सरकार माओवादी नेतृत्वमा बन्छ, यसले गठबन्धनको सरकार दिगो हुन्छ र सुशासनको पक्षमा प्रभावकारी रूपले काम गर्न सक्छ,’ उनले भने ।

See More On

सुझावित समाचार