बालेनलाई दोहोरो झड्का : अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्चको आदेश

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शनसम्बन्धी विवादमा कानुनलाई चुनौती दिएका काठमाडौंका मेयर बालेन साहलाई एकै दिन अदालतबाट दोहोरो झड्का लागेको छ । भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले मंगलबार पुनः अन्तरिम आदेश दिएको छ भने अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले साहसँग लिखित जवाफ मागेको छ । 

सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौंका मेयर साहसँग लिखित जवाफ मागेको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै लिखित जवाफ मागेको हो ।

मेयर साहले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि चलचित्र निर्माता अदालत गएका थिए । उच्च अदालत पाटनले बिहीबार काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेलगत्तै काठमाडौंका मेयर बालेन्द्र साहले त्यसलाई चुनौती दिएका थिए । 

आदेश आफ्नो पक्षमा नआएपछि मेयर साहले सरकार र अदालत भारतको गुलाम रहेको अभिव्यक्ति दिएका थिए । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । ‘फिल्मलेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसका लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन,’ मेयर साहले लेखेका थिए ।

उच्चले भन्यो– चलचित्र रोक्ने क्षेत्राधिकार महानगरको होइन

चलचित्र संघले दायर गरेको रिटमा यसअघिकै अन्तरिम आदेशलाई निरन्तरता दिँदै उच्च अदालत पाटनले महानगरले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन नहुने आदेश जारी गरेको छ । महानगरका मेयर साहले भारतीय चलचित्र ‘आदिपुरुष’ महानगरभित्रका फिल्म हलहरूमा सञ्चालन हुन नदिने निर्णय गरे पनि चलचित्र संघले रिट दायर गरेको थियो । 

७ असारमा उच्चका न्यायाधीश धीरबहादुर चन्दको इजलासले भारतीय चलचित्रमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । मंगलबार दुवै पक्षलाई छलफलमा बोलाएको अदालतले पुरानै आदेशलाई निरन्तरता दिएको हो । अदालतको आदेशमा चलचित्र रोक्ने क्षेत्राधिकार महानगरको नभएको उल्लेख छ ।

मंगलबार न्यायाधीशहरू हरिप्रसाद पौडेल र नारायणप्रसाद पौडेलको इजलासले सो अन्तरिम आदेश जारी गरेको हो । महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’मा ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणमा नसच्याएको भन्दै काठमाडौंका चलचित्र भवनमा भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको थियो । 

See More On

सुझावित समाचार