महोत्तरीस्थित जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्ततीहरूले वंशजको आधारमा नागरिकता लिने क्रम बढेको छ । पहिलो दिन जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय बर्दिबासबाट एक–एकजनाले नयाँ नागरिकता ऐनबमोजिम नागरिकता लिएकोमा तेस्रो दिन सोही संख्या एक सय १३ पुगेको छ ।
लामो समयदेखि जन्मसिद्धका सन्ततीले नागरिकता पाउन नसकेकोमा अहिले जन्मसिद्धका सन्ततीलाई समेत वंशजको नागरिकता दिन थालेपछि नागरिकता लिनेहरूको भिड बढ्न थालेको हो ।
नागरिकता लिन विभिन्न दस्ताबेजहरू फारमसँगै बुझाउनुपर्नेमा पहिलो र दोस्रो दिन प्रक्रिया बुझ्न र कागजपत्र जुटाउनमै सेवाग्राही व्यस्त रहेकोमा वडाबाट तथा अन्य स्थानबाट जुटाउनुपर्ने कागजातहरू जुट्दै जाँदा सोहीअनुसार भिड बढ्दै गएको हो । सोमबारसम्म जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट ३५, इलाका प्रशासन कार्यालय बर्दिबासबाट ३० र इलाका प्रशासन कार्यालय गौशालाबाट ४८ थान नागरिकता बाँडिएको हो ।
नागरिकता लिनेभन्दा पनि नागरिकताबारे बुझ्नेको भिड धेरै : सहायक प्रजिअ
यता जन्मका आधारमा र आमाको नामबाट नागरिकता लिन चाहनेहरूको भिडभाड जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूका बढ्दै गरेको देखिएको छ । अधिकांश फारम लिएर आएकोहरूभन्दा प्रक्रिया बुझ्नेहरूको भिड अत्यधिक रहेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । उनले नयाँ व्यवस्था भएकाले अझै प्रक्रिया बुझ्न अत्यधिक भिड भइरहेको बताए । उनले नागरिकता लिनेहरूको कागजात चेकजाँचमा कुनै कमी–कमजोरी नरहेको र एक–एक प्रक्रिया र कागजात दुरुस्त हुनेहरूको मात्र काम अगाडि बढेको बताए ।