सप्तरी प्रिमियर लिगको उपाधि वारियर्सलाई

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

बजाज खडक वारियर्सले पाँचौँ राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ । वारियर्सले तेस्रोपटक लिगको उपाधि जितेको हो । पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा कञ्चनरूप राइनोजले पहिलो ब्याटिङ गरी सबै विकेट गुमाएर एक सय ४५ रनको योगफल बनाएको थियो ।

वारियर्सले १९.३ ओभरमा ६ विकेट गुमाएर जित निकाल्यो । उपाधि विजेता वारियर्सले तीन लाख र उपविजेता कञ्चनरूपले एक लाख ५० हजार रुपैयाँ पाए । 

फाइनलमा लक्ष्य पछ्याउँदा वारियर्स एक समय ५८/४ को अवस्थामा थियो । पाँचाैँ नम्बरका ब्याट्सम्यान विशाल सुस्लिङले अविजित ४६ रन जोड्दै वारियर्सलाई तेस्रोपटक उपाधि दिलाए ।

उनले ३३ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । सुस्लिङले पाँचौँ विकेटका लागि विवेक यादवसँग ३० रनको साझेदारी गरेका थिए । उनले छैटौँ विकेटका लागि दिनेश अधिकारीसँग ३६ रन र सातौँ विकेटमा अनिल यादवसँग २२ रनको साझेदारी गरे । वारियर्सलाई अन्तिम १२ बलमा जित्न २० रन आवश्यक थियो । 

सुझावित समाचार