नयाँ पत्रिकाकर्मी रिजाल पुरस्कृत

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी नारायण रिजाल पुरस्कृत भएका छन्। नेपाल प्रेस युनियन जिल्ला शाखा बागलुङको आठौँ जिल्ला अधिवेशन तथा २३औँ साधारणसभाबाट रिजाल पुरस्कृत भएका हुन्।

युनियनमा स्थापना गरिएको नारायण–मानकुमारी प्रेस युनियन पत्रकारिता पुरस्कारबाट उनलाई पुरस्कृत गरिएको हो। रिजाललाई गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले सम्मानपत्रसहित पुरस्कृत गरेका थिए।

बागलुङका समाजसेवी कर्ण हमाल, होमबहादुर हमाल, मकरबहादुर हमाल, पूर्णबहादुर हमाल र नगेन्द्रबहादुर हमालले आफ्ना बाबुआमाको सम्झनामा स्थापना गरेको कोषबाट पुरस्कृत तथा सम्मान गरिएको हो। कोषमार्फत जिल्लामा क्रियाशील पत्रकारलाई हरेक वर्ष सम्मान तथा पुरस्कृत गरिँदै आइएको छ।

रिजालसहित नागरिक दैनिकमा कार्यरत पत्रकार संगम घर्तीमगर, माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार सुवास आचार्य, गलकोट एफएममा कार्यरत पत्रकार शर्मिला बस्नेत र रेडियो ढोरपाटनमा कार्यरत पत्रकार छविलाल पाण्डेलाई पनि पुस्कृत गरिएको थियो।

त्यसैगरी, प्रेस युनियन बागलुङमा स्थापना गरिएको तारादेवी–चूर्णमान सिंह प्रेस युनियन पत्रकारिता पुरस्कारबाट पत्रकार प्रदीप पन्त र डम्मर बुढा पुरस्कृत भएका छन् । पन्त कान्तिपुर टेलिभिजनमा कार्यरत छन् भने बुढा राससमा कार्यरत छन् । उक्त पुरस्कार प्रेस युनियन बागलुङका संस्थापक अध्यक्ष धीरप्रताप सिंहले स्थापना गरेका थिए। पुरस्कृत सबैजनालाई नगद रु. १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

सुझावित समाचार