सप्तरी प्रिमियर लिगको फाइनलमा

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

खडक वारियर्सले एक खेलअगावै सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ । शनिबारको दोस्रो खेलमा खडक वारियर्सले रूपनी राइडर्सलाई ६७ रनले पराजित गरेको हो । लगातार चौथो जितपछि एक खेलअगावै फाइनलमा स्थान पक्का गरेको खडक वारियर्सको आठ अंक छ । हारपछि रुपनी राइडर्स पाँच खेलमा तीन जित र दुई हारको नतिजासहित ६ अंकका साथ दोस्रो स्थानमा छ । 

खडक वारियर्सले प्रस्तुत गरेको एक सय ७४ रनको लक्ष्य पछ्याएको रुपनी १६.३ ओभरमा सबै विकेट गुमाउँदा एक सय ६ रनमै समेटियो । रुपनीका अरनिको यादवले ४०, विक्की चौधरीले १५, मुकुन्द यादवले १३ र जितेन्द्र मुखियाले १२ रन बनाएका थिए । खडक वारियर्सका लागि अनिल यादव र कप्तान विवेक यादवले समान तीन विकेट तथा दिनेश अधिकारी र विशाल सुस्लिङले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको खडक वारियर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७३ रनको योगफल तयार पारेको थियो । वारियर्सका विशाल सुस्लिङले ३१ बलमा सात छक्का र तीन चौकाको मद्दतमा सर्वाधिक ६६ रन बनाए । यसैगरी, नीरज यादवले ४१ तथा सन्दीप रजालीले ३० रन जोडे । पाँचौँ विकेटका लागि विशाल र नीरजले एक सय नौ रनको साझेदारी गरेका थिए । रुपनीका लागि जितेन्द्रले दुई तथा फिर्दोश अन्सारी, अनील शाह, अरनिको यादव र अशोक मेहताले समान एक विकेट लिए । 

See More On

सुझावित समाचार