एकदिवसीय विश्वकप खेल्ने सपना अधुरै

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

अमेरिकालाई ६ विकेटले हराउँदै आइसिसी एकदिवसीय विश्वकप खेल्ने सम्भावना कायम राखेको नेपालको सपना नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएसँगै अधुरै रह्यो 

जित्नैपर्ने खेलमा नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएसँगै नेपालको आइसिसी एकदिवसीय विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । शनिबार भएको खेलमा नेदरल्यान्ड्ससँग ब्याटिङ र बलिङमा लज्जास्पद प्रदर्शन गर्दै नेपाल ग्लोबल छनोटको सुपर सिक्समा स्थान बनाउन असफल भएको हो ।

नेपालले दिएको एक सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले तीन विकेट गुमाएर २७.१ ओभरमा पूरा गरेको थियो । सुपर सिक्समा स्थान बनाएको खण्डमा नेपालको विश्वकप खेल्ने सम्भावना जीवितै हुने थियो ।

आयोजक जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग हार र अमेरिकालाई हराए पनि नेपाल सुपर सिक्समा उक्लन सकेन । नेपाल जिम्बावेसँग आठ विकेट र वेस्ट इन्डिजसँग एक सय एक रनले पारजित भएको थियो । तेस्रो खेलमा अमेरिकालाई भने ६ विकेटले पराजित गर्दै सुपर सिक्स सम्भावना कायम राख्न सफल भयो ।

समूह एमा चार खेलबाट दुई अंक जोडेको नेपाल चौथो स्थानमा रह्यो । तीन खेलबाट पुछारमा रहेको अमेरिका पनि बाहिरिइसकेको छ । नेपालले अब सातौं स्थानको लागि प्लेअफ खेल्नेछ ।

समूहबाट वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्सले अन्तिम ६ भित्र स्थान बनाएका छन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा स्थान बनाउनेछन् । 

चलेन नेपालको ब्याटिङ
जिम्बावेको हरारेमा टस हारेर नेपालले ब्याटिङ निम्तो पाएको थियो । नेपालले निकै खराब ब्याटिङ ग‍र्‍यो । कुनै पनि खेलाडीले अर्धशतकीय इनिङ्स बनाउन सकेनन् । साझेदारी पनि अर्धशतकीय भएन । नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय ६७ रन बनाउन सक्यो । 

कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन बनाएका थिए । ओपनर कुशल भुर्तेल र दशौँ नम्बरमा क्रिजमा आएका सन्दीप लामिछानेले समान २७ रन बनाएका हुन् । तेस्रो नम्बरमा क्रिजमा आएका भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रनको योगदान गरे । शेख दाजुभाइले दोहोरो अंक जोड्न सकेनन् । ओपनर आसिफ दुई बल खेलेर शून्यमा पेभिलियन फर्किएका थिए ।

उनी २.२ ओभरमा भान बिकबाट बोल्ड भए । चार बल खेलेका आरिफले ६ रन मात्रै जोडे । अलराउन्डर तथा फिनिसर करण केसी एक रनमा आउट भए । नेपालका लागि कुशल भुर्तेल र भीम सार्कीले दोस्रो विकेटका लागि सर्वाधिक ३९ रनको साझेदारी गरे । सन्दीप र गुल्सनले ३२ रनको साझेदारी गरे पनि नेपालको इनिङ्स उकास्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका लोगन भान बिकले सर्वाधिक ४ विकेट लिएका थिए । उनले ९.३ ओभरमा एक मेडनसहित मात्र २४ रन खर्चिए । भान बिकले ओपनर आसिफसँगै कप्तान रोहित, दीपेन्द्र र सन्दीपको महत्वपूर्ण विकेट लिएका थिए । नेदरल्यान्ड्सका बास डे लिड र विक्रमजित सिंहले समान २ विकेट हात पारे । 

बलिङमा पनि चुक्यो नेपाल
निर्णायक खेलमा बलिङतर्फ पनि नेपाल कमजोर रह्यो । नेदरल्यान्ड्सका ओपनर जोडीलाई आउट गर्न नसक्दा नेपाल हारतर्फ बढेको थियो । नेदरल्यान्ड्सले पावर प्लेमा विनाविकेट क्षतिमा ५८ रन बनाएको थियो । प्लेयर अफ दी म्याच म्याक्सवेल ओ डाउडल र विक्रमजितले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । 

करिअरकै उत्कृष्ट ब्याटिङ गरेका डाउडलले ७५ बलमा आठ चौका र ४ छक्कासहित ९० रनको इनिङ्स खेले । उनलाई २६.१ ओभरमा गुल्सन झाले बोल्ड गरे । ३० रन बनाएका विक्रमजितलाई १२.६ ओभरमा सन्दीपले एलबिडब्लू धरापमा पारेका थिए । चौथो नम्बरमा क्रिजमा आएका विस्ली बारेसीले ४१ रन बनाएर अविजित रहे । १० ओभर बलिङ गरेका सन्दीपले ६० रन खर्चिएर दुई विकेट लिएका थिए । गुल्सनले एक विकेट लिँदा ललित राजवंशी, करण केसी, दीपेन्द्र विकेटविहीन भएका थिए ।

जिम्बावेले वेस्ट इन्जिडलाई हरायो
घरेलु टोली जिम्बावेले वेस्ट इन्डिजलाई ३५ रनले हराएको छ । अलराउन्डर सिकन्दर राजाको उत्कृष्ट प्रदर्शनसँगै जिम्बावे सुपर सिक्समा पुगेको छ । जितका लागि २ सय ६९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २ सय ३३ रनमा अलआउट भयो । वेस्ट इन्डिजका ओपनर कायल मेयर्सले सर्वाधिक ५६ रन बनाए । 

निकोलस पुरनले ३४, हाई होपले ३०, ब्रेन्डन किङ र ओपनर ब्रेन्डन किङले समान २० तथा जेसन होल्डरले १९ रनको योगदान गरेका थिए । जिम्बावेका तीव्र गतिका बलर टेन्डाई चताराले सर्वाधिक ३ विकेट लिँदा सिकन्दर राजा, ब्लेसिङ मुर्जाबानी र रिचर्ड नगारावाले समान दुई विकेट लिएका थिए ।

यसअघि, टस हारेर ब्याटिङ निम्तो पाएको जिम्बावेले ४९.५ ओभरमा सबै विकेट गुमाउँदा २ सय ६८ रन बनाएको थियो । राजाले ५८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६८ रन बनाएका थिए । रायन बर्लले ५० रनको योगदान गर्दा क्रेग इर्विनले ४७ र सन विलियम्सले २३ रनको योगदान गरे । वेस्ट इन्डिजका किमो पलले ३ विकेट लिए 

See More On

सुझावित समाचार