जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचको मृत्यु, मृत्यु हुने चार एकै वडाका

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण

जन्ती लिएर गएको जिप गोरखाको पातलेखोलामा शुक्रबार दुर्घटना हुँदा गोरखामा पाँचजनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चारजना सहिद लखन गाउँपालिका– ५ पोखरीडाँडाका हुन् भने एकजना वडा नम्बर ४ का हुन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी लीलाराज लामिछानेका अनुसार १९ वर्षीय प्रवीण थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा, २८ वर्षीय वीरबहादुर थापा र ६४ वर्षीय धनबहादुर थापा छन् । दुर्घटनामा १२ जना घाइते भएका छन् । 

एकै वडाका चारजनाको मृत्यु भएपछि पोखरीडाँडा शोकमा डुबेको छ । घाइतेमध्ये चारजनाको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ । सहिद लखन गाउँपालिका– ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका तीनवटा गाडीमध्ये प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप पातलेखोला भन्ने स्थानमा शुक्रबार बिहान करिब २ बजेतिर दुर्घटना भएको हो ।

जिप घुम्ती सडकबाट अन्दाजी २५० मिटर तल खसेको छ । जिपमा १९ जना सवार थिए । बर्सात, कच्ची सडक र क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । घटनाप्रति दुःख व्यक्त गर्दै पालिकाले शुक्रबार शोक बिदा दियो ।

शुक्रबार सूचना जारी गर्दै गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालय र शैक्षिक संस्थाहरूमा शोक बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए । 

सुझावित समाचार