ताप्लेजुङ पहिरो : घाइतेको हेलिकोप्टरबाट उद्धार

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा पहिरोमा पुरिएर घाइते भएका एकजनाको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लगिएको छ। 

प्रमुख जिल्ला अधिकारी गोमा चेम्जोङले सिदिङ्वा– ६ मेहेले मुकुभञ्ज्याङमा पहिरोमा परी गम्भीर घाइते भएका राजकुमार राईलाई उपचारका लागि हेलिकोप्टरमार्फत उपचारका लगिएको जानकारी दिइन्। 

इटहरी बाहिनीको हेलिकाेप्टरबाट उनको उद्धार गरिएको हो। उनलाई उपचारका लागि कोसी अस्पताल लगिएको छ। खराब मौसमका कारण उनको करिब एक घन्टा ढिला गरी उद्धार गरिएको स्थानीय कमल कडरियाले बताए।  

प्रजिअ चेम्जोङका अनुसार मेहेलेका करिब तीन सय परिवारलाई अन्यत्र सार्नुपर्ने अवस्था देखिएको छ। गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ। अहिले पनि वर्षा नरोकिएकाले जतिवेला पनि पहिरो आउन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन्।  

स्थानीय नीलगिरि माध्यमिक विद्यालयका प्रधानाध्यपक गोपालदास कडरियाले आफ्नो केही उपाय नरहेको बताए। उनले भने, ‘गाउँ नै जोखिममा छ। जमिन धुजाधुजा भएर फाटेको छ। जाने कतै ठाउँ छैन। अब पहिरो गएमा मर्नेबाहेक केही विकल्प देखिँदैन।’ 

अहिलेसम्म जिल्लाको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा एकै परिवारका बाबुछोरा केसर र उनका छोरा सुरेशकुमार राई तथा गणेश तामाङको पनि मृत्यु भएको छ। अझै तीनजना भगीमाया बुढाक्षेत्री, उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ज्वल बुढाक्षेत्री बेपत्ता छन्। 
 

सुझावित समाचार