प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन्।
आइतबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा एकजनाको मृत्यु भएकाे छ भने १८ जनाभन्दा बढी बेपत्ता भएका थिए।
प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए।
उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। उनले उद्धार, राहत र बेपत्ताहरूको खोजीकार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयंसेवी संघसंस्थामा अपिल पनि गरे।
प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रिज, घरबारविहिनलाई तत्काल स्थानान्तरण र भोलिको आवासका लागि व्यवस्था मिलाउन आवश्यकताअनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताए।
उनले भने, ‘म अस्ति मात्र मेलम्ची गएको थिएँ, त्यहाँ जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो। यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो।’
प्रधानमन्त्री आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपराह्न काठमाडौं फर्किनेछन्।