नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १६ गतेदेखि देशभर गिटी बालुवा उत्पादन कार्य बन्द गर्ने चेतावनी दिएको छ।
महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १६ देखि देशभर गिटी बालुवा उत्पादन कार्य बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो। कानुनबमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न सरकारसँग महासंघको माग छ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सीताराम न्यौपानेले विगत १० वर्षदेखि क्रसरका समस्या समाधानको लागि पहल गरे पनि अहिलेसम्म प्रगति नभएको गुनासो गरे। उनले अवैध क्रसर उद्योग बन्द गर्ने नाममा कानुनबमोजिम सञ्चालनमा आएका उद्योगहरूसमेत बन्द गराइएको जिकिर गरे।
दर्ता भई सञ्चालनमा रहेका, तर मापदण्डलगातयका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानुनअनुसार लाग्ने कर, दस्तुर, शुल्कलगायत राजस्व लिई २०८० असार मसान्तसम्म यथावत रूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएकोमा महासंघले असन्तुष्टि जनाएको छ। अध्यक्ष न्यौपानेले क्रसर उद्योगहरू दर्ता वा राजस्व बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरू नवीकरणसमेत नभएको गुनासो गरे।