नेपाल एथलेटिक्स संघले १९औँ एसियाली खेलकुद र २४औँ एसियन एथलेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ
चीनको होन्जाउमा हुने १९औँ एसियाली खेलकुदका लागि आर्चरी, एथलेटिक्स र कबड्डीबाट २३ खेलाडी छनोट भएका छन् । आर्चरीबाट चार खेलाडी छनोट भएका छन् । नेपाल आर्चरी संघले महिला र पुरुषतर्फ दुई खेलाडी छनोट गरेको हो । महिलातर्फ रिकर्भरमा नेपाली सेनाकी मञ्जु बजगाईं र कम्पाउन्डमा सेनाकै इमायुङ राई छनोट भएका छन् । मञ्जु एक हजार ७० अंक र इमायुङले एक हजार तीन सय तीन अंक जोडेका हुन् । पुरुषतर्फ रिकर्भरमा नेपाल प्रहरीका तिलक पुनमगर तथा कम्पाउन्डमा गण्डकी प्रदेशका योगेन्द्र शेरचन छनोट भए ।
तिलकले एक हजार दुई सय ६७ र योगेन्द्रले एक हजार दुई सय ८९ अंक जोडे । छनोट भएका खेलाडीले एसियाली खेलकुदमा समावेश १० मध्ये ६ इभेन्ट्समा प्रतिस्पर्धा गर्ने आर्चरी संघले जनाएको छ । ११औँ राष्ट्रिय आर्चरी प्रतियोगिताबाट छानिएका १४ खेलाडीले एसियाली खेलकुदको छनोटमा प्रतिस्पर्धा गरेका थिए । असोज ६ देखि २१ गतेसम्म हुने एसियाली खेलकुदमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्नेछ ।
एथलेटिक्समा सात खेलाडी
नेपाल एथलेटिक्स संघले १९औँ एसियाली खेलकुद र थाइल्यान्डमा आयोजना हुन लागेको २४औँ एसियन एथलेटिक्स च्याम्पियनसिपका लागि फरक सात खेलाडी छनोट गरेको छ । पुरुषतर्फ चार र महिलामा तीन खेलाडी छनोट भएका हुन् । पुरुषतर्फ १० हजार मिटर दौडमा दीपक अधिकारी छनोट भए ।
म्याराथनमा राजन रोकाय, सोमबहादुर कुमाल र गोपीचन्द्र पार्की छनोट भएका हुन् । राजनले ४ सय, सोमले ८ सय र गोपीले पाँच हजार मिटरमा प्रतिस्पर्धा गर्नेछन् । महिला म्याराथनमा पुष्पा भण्डारी, ५ हजार मिटरमा राजपुरा पछाई र १० हजार मिटरमा सन्तोषी श्रेष्ठ छनोट भए । यता, २४औँ एसियन एथलेटिक्स च्याम्पियनसिपका लागि पुरुषतर्फ ५ र महिलामा २ खेलाडी छनोट भएका छन् । पुरुषतर्फको आयुष कुँवर र गोपीचन्द्र, मुकेशबहादुर पाल, सोम र दीपक छन् । महिलातर्फ फुलमती राना र राजपुरा छनोट भए ।
कबड्डीबाट १२ खेलाडी
नेपाल कबड्डी संघले महिला कबड्डी टोलीको अन्तिम छनोटमा १२ खेलाडी छनोट गरेको छ । प्रमुख प्रशिक्षक पार्वती राईले मानमती विष्ट, सृजनाकुमारी थारू, गंगा घिमिरे, रविना चौधरी, जयन्ती बडु, मेनुका राजवंशी, अनुजा कुलुङ राई, सुनिता थापा, नितु गुरुङ, कलावती पन्त, ईशा राई र अर्पणा चौधरी छनोट भएका हुन् । एसियाली खेलकुदमा नेपालको महिला टोलीले पहिलोपटक सहभागिता जनाउन लागेको हो ।