झमेलामा ‘झमेल’ : मनलाग्दी नामकरणपछि ललितपुर महानगर र स्थानीयबीच विवाद

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

उपत्यकाभित्र मात्रै होइन, देशभरमै पर्यटकका लागि ठमेल आकर्षण गन्तव्य हो । नेपाल आएका हरेक पर्यटक कुनै न कुनै बहानामा एकपटक ठमेल पुग्न खोज्छन् । ठमेलमा रहेका होेटेल रेस्टुरेन्ट, पर्यटनसम्बन्धी व्यापार व्यवसाय, हस्तकलाका सरसामानको किनबेचलगायतका लागि ठमेल पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

तर, पछिल्लो समय उपत्यका भित्रिएका पर्यटकहरूको रोजाइमा ललितपुरको झम्सिखेल पनि पर्न थालेको छ । यहाँ खुल्दै गरेका नयाँ–नयाँ होटेल रेस्टुराँ, कफी सप, हस्तकलाका व्यवसायका कारण अचेल पर्यटकको बाक्लो उपस्थित हुन थालेको स्थानीय बताउँछन् । पर्यटकलाई ललितपुरको सानेपा, बखुन्डोल, झम्सिखेल, धोबीघाट र पुल्चोकले तान्न थालेको उनीहरूको भनाइ छ । पर्यटकीय चहलपहल बढेपछि घरधनीहरूले घरलाई होटेल बनाउने क्रम पनि बढेको छ । पर्यटकीय आगमन र होटेल रेस्टुरेन्ट बढिरहेकाले स्थानीय तथा होटेल व्यवसायीहरू यसलाई काठमाडौंको ठमेलसँग तुलना गर्न थालेका छन् । स्थानीय र होटेल व्यवसायीहरूले झम्सिखेलको ‘झ’ र ठमेलको ‘मेल’ जोडेर नयाँ नामकरण (झमेल)समेत गरेका छन् । उनीहरूले चिडियाखानाको पछाडिदेखि पश्चिमतर्फ रिङरोडको निकाससम्म रहेका ठाउँहरू (सानेपा, पुल्चोक, बखुन्डोल, झम्सिखेल, धोबीघाट)लाई गाभेर ‘झमेल’ नाम राखेका छन् ।

यसकारण विवाद
परम्परागत टोलको नामै परिवर्तन गरेपछि महानगर र स्थानीयबीच भने विवाद सुरु भएको छ । स्थानीय ‘झमेल’ नामले नै झम्सिखेललाई चिनाउन चाहन्छन् भने महानगरपालिका पुरानो नाम हटाउन नदिने अडानमा छ । यही कारण पछिल्लो समय महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र स्थानीयबीच झमेला सुरु भएको छ । झम्सिखेल तथा सानेपा क्षेत्रका होटेलहरूले होटेलको ठेगानामै ‘झमेल’ लेख्न थालिसकेका छन् । यो नामले ठमेलकै हाराहारीमा चर्चा पाइसकेकाले ‘झमेल’बाट चिनाउनुपर्ने उनीहरूको भनाइ छ । व्यवसायीहरूले यहाँको नाइटलाइफलाई पनि ठमेलकै सरह छुट दिनुपर्ने माग माग प्रशासनसमक्ष राखेका छन् । प्रशासनले राति अबेरसम्म होटेल, रेस्टुराँ खोल्न नदिएको भन्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापनपत्रसमेत बुझाएका छन् । पयर्टकीय ‘हब’ बन्न थालेकाले औपचारिक रूपमै नाम परिवर्तनको पक्षमा व्यवसायीहरू छन् । ‘काठमाडौंको ठमेलमा जस्तै यहाँ पनि पयर्टकको भिड बढेको छ, यो ठाउँको नाइटलाइफलाई पनि ठमेलको सहर छुट दिनुपर्छ,’ झम्सिखेलका होटेल व्यवसायी सुन्दर केसीले भने, ‘ठमेलजस्तै बनाउन झम्सिखेलको नाम परिवर्तन गरेका हौँ ।’ तर, मौलिक र परम्परागत नाम त्यागेर नयाँ नामकरण गर्ने विषयमा ललितपुर महानगरपालिका सकारात्मक छैन ।

सात वर्षअघि यहाँका व्यवसायीहरूले होटेल रेस्टुरेन्ट दर्ता गर्दा ठाउँको नाम ‘झमेल’ राखेका छन् । यति मात्रै होइन, उनीहरूले ‘झमेल’ टोल सुधार समितिसमेत दर्ता गरिसकेका छन् । तर, कला र संस्कृतिले भरिपूर्ण मानिने ललितपुर महानगर यस्ता नामको विरुद्धमा छ । महानगर मौलिक र परम्परागत नामले नै ललितपुरका हरेक ठाउँलाई चिनाउने अभियानमा छ ।

महानगरका मेयर चिरिबाबु भन्छन्– झमेला नथप्नुस् 
महनगरका मेयर चिरिबाबु महर्जन भने पुराना टोलको नाम संकलन र अध्ययनमा लागेका छन् । उनी महानगरभित्र रहेका हरेक ठाउँलाई खोजीखोजी पुरानो नाम राखिने तयारीमा छन् । ‘पुरानो, मौलिकतायुक्त नाम खोज्दै हिँडेको छु, तर कतिपय स्थानीय र व्यवसायीहरू ‘झमेल’ नाम राखेर झमेला थपिरहनुभएको छ,’ उनी भन्छन्, ‘कसैले यो नाम राख्छ भने हटाउँछौँ ।’ होर्डिङ बोर्डमा लेखिएको यो नाम नगर प्रहरीले हटाउन थालेको छ । झमेल नाम राखेकाले असारमा नवीकरण गर्दा राजस्व शाखालाई यो नाम नवीकरण नगर्न र खारेज गर्न निर्देशन दिइसकेको मेयर महर्जनले बताए । 

सडकका नाम पनि मौलिक र पुरानै राखिने 
पत्येक सडकमा पुरानो र मौलिक नाम राख्ने ललितपुर महानगरको योजना छ । गत वर्ष दिवंगत भएका संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नामबाट पुल्चोक–सुन्धारा–ग्वार्को सडकखण्डलाई नामकरण गरेर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मार्ग बनाउन थालिएको छ । महानगर भने मौलिक र रैथाने नामको खोजी गर्ने, तर व्यापारीहरूले भने टोलको मौलिक नाम मेटाउन खोजे कारबाही गर्ने मेयर महर्जनको चेतावनी छ । ‘ललितपुरका धेरै ठाउँको नाममा ऐतिहासिकता छ, सत्यता छ, हामीले रैथाने र मौलिकतालाई ख्याल राखेर टोल, सडक र चोकहरूको नामकरण गर्छौँ, तर नाम बिगार्न दिँदैनौँ,’ उनी भन्छन्, ‘नाम छनोट गर्दा वडा र स्थानीयको बैठकबाट निर्णय हुनुपर्छ, आफूखुसी नामकरण गर्न पाइँदैन ।’ महानगरका प्रवक्ता राजु महर्जनले महानगरभित्र रहेका सबै घरमा ब्लक नम्बर राखिसकेकाले अब टोल र सडकको नाममा पनि मौलिकता ल्याउने बताए ।

कहिल्यै नसुक्ने इकुहिती र हिकुहिती 
झम्सिखेलनजिकै धोबीघाटमा दायाँ–बायाँ दुईवटा ढुंगेधारा छन्– इकुहिती र हिकुहिती । ललितपुरमा रहेकामध्ये यी धारामा हिउँद–बर्खा निरन्तर पानी आइरहन्छ । हाल स्थानीयले ‘झमेल’ भन्ने गरेको ठाउँलाई इकुहिती र हिकुहिती वा पुरानै नाम यथावत् राख्न स्थानीय र होटेल व्यवसायीलाई महानगरले निर्देशन दिएको छ । इकुहिती र हिकुहितीमा पानी आउनुको मुख्य कारण सदर चिडियाखानाभित्र रहेको जावला ख्यः पुखुः भएको परम्परागत खानेपानी तथा ढुंगेधाराका अध्ययनकर्ता पद्मसुन्दर जोशीले बताए । 

यसरी रहेको थियो झम्सिखेल नाम ?
नेवारी भाषामा ‘झम्सी’ भनेको ‘निबुवा’ हो । ख्यः भनेको चउर । त्यहाँ झम्सी (निबुवा) पाउने चउर (ख्यः) भएकाले झम्सिखेल नाम राखियो । प्रयोग गर्दै जादा ख्यः खेल हुन पुगेको थियो । अहिले होटेल व्यवसायी तथा केही स्थानीयले मौलिक नाम हटाउने अभियान चलाइरहेकाले यसलाई रोक्नुपर्ने अध्ययनकर्ता जोशी बताउँछन् । उनी भन्छन्, ‘मौलिक नामलाई परिवर्तन गर्नुहुँदैन । शब्दलाई अपभ्रंश गर्न खोज्दा इतिहास मेटिन्छ ।’

मौलिक नाम खोज्दै भक्तपुर र मध्यपुरथिमी 
भक्तपुरका दुईवटा नगरपालिका पनि मौलिक नामको खोजीमा छन् । भक्तपुर र मध्यपुरथिमी नगरपालिकाका संस्कृति तथा सम्पदा शाखाले रैथाने नाम खोजी गर्न थालेका हुन् । नयाँ बस्ती बनाउने क्रममा आधुनिक नाम राख्ने र टोली र स्थानको मौलिकता हराउने भएकाले पुरानै नाम कायम गर्ने अभियानमा उनीहरू छन् । भक्तपुर र मध्यपुरथिमी नगरपालिका नेवारी कला संस्कृतिको हिसाबले महत्वपूर्ण ठाउँ मानिन्छ । यहाँका अधिकांश टोल तथा स्थानका नाम नेवारीमा छन् । तर, सहरीकरणसँगै मौलिकता झल्किने नामहरू पनि हराउन थालेकाले नगरपालिकाभित्र रहेका मौलिक नामहरू खोजी गर्न लागेको नगरपालिकाहरूले जनाएका छन् ।

See More On

सुझावित समाचार