कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै सुरु भएको आन्दोलन चर्कंदै गएको छ । स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि सरकारलाई दबाब दिन भन्दै आइतबार प्रदेशभर गरिएको हडतालले जनजीवन प्रभावित बनेको छ ।
हडतालका कारण कैलाली, कञ्चनपुरसहित विभिन्न जिल्लामा लामो तथा छोटो दूरीका सवासीसाधन सञ्चालन हुन सकेनन् । बजार, शिक्षण संस्था, उद्योग, कलकारखाना बन्द रहे । हडतालका कारण धनगढी, अत्तरियालगायतका प्रमुख बजार दिनभर खुलेनन् । आन्दोलनको समर्थनमा व्यवसायीले स्वतःस्फुर्त रूपमा बजार बन्द गर्नुका साथै यातायात चलाएनन् । व्यवसायी, स्थानीय बासिन्दा, राजनीतिकर्मीलगायत आन्दोलनको समर्थनमा उत्रिएपछि बन्दको प्रभाव बढी देखियो । गेटामा मेडिकल स्वास्थ्य विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिले आह्वान गरेको हडताललाई यातायात व्यवसायी समितिहरूले विज्ञप्तिमार्फत समर्थन गरेका थिए ।
सरकारले गत १५ जेठमा सार्वजनिक गरेको बजेटमा गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने उल्लेख गरेपछि आन्दोलन सुरु भएको हो । गत २९ माघमा गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णय गरेको सरकारले नीति तथा कार्यक्रममा समेत यो विषय समेटेको थियो । बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र सय शड्ढयाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा आन्दोलन सुरु भएको हो ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले मेडिकल माफियाको प्रभावमा सरकारले नीति तथा कार्यक्रममा उल्लेख भएको विश्वविद्यालय हटाएर प्रतिष्ठान बनाउने र सय शड्ढयाको अस्पताल सञ्चालन गर्ने निर्णय गरेको आरोप लगाए । तत्काल ६ सय शड्ढयाको अस्पताल सञ्चालन गर्न सकिने पूर्वाधार भए पनि सय शड्ढयाको अस्पतालसहित प्रतिष्ठान बनाउने विषय बजेटमा समावेश गरिएपछि यहाँका नागरिक आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए । मेडिकल माफियाको प्रभावमा विश्वविद्यालय स्थापनाको विषय रोकिएको पाण्डेयको दाबी छ । ‘हामीले मेडिकल विश्वविद्यालय मागेका हौँ । प्रतिष्ठानका नाममा सुदूरपश्चिमवासीलाई झुक्याउन पाइँदैन,’ उनले भने, ‘माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौँ ।’
एमालेले गेटामा मेडिकल विश्वविद्यालय स्थापनाबारे सुदूरपश्चिम प्रदेश सरकारको धारणा माग गरेको छ । प्रदेश सभाको आइतबारको बैठकमा एमाले प्रदेश सभा सदस्य धर्मराज पाठकले गेटामा मेडिकल विश्वविद्यालय हुनुपर्छ भनेर सुदूरपश्चिमका नागरिकले लामो समयदेखि माग गर्दै आएको र अहिले सडक आन्दोलन भइरहेका वेला यसबारे प्रदेश सरकारलाई आफ्नो धारणा सार्वजनिक गर्न माग गरेका हुन् ।
‘एमालेको धारणा विश्वविद्यालय बनाउनुपर्छ भन्ने हो । सरकारको नीति तथा कार्यक्रममा एउटा र बजेटमा अर्कै कुरा आएको छ,’ उनले भने, ‘गेटामा सय शड्ढयाकै मेडिकल कलेज बनाउने वा विश्वविद्यालय बनाउने ? सुदूरपश्चिम सरकारको धारणा के हो ? प्रदेश सरकार अहिलेसम्म किन मौन छ ? किन आफ्नो धारणा सार्वजनिक गर्न सक्दैन ?’ सरकारलाई आफ्नो धारणा सार्वजनिकका लागि रुलिङ गर्न उनले सभामुखलाई आग्रह गरे ।