स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान प्रभातफेरीको आयोजना गरेको छ ।
‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रभातफेरी कम्पनीको केन्द्रीय कार्यालय पानीपोखरीबाट सुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन गरिएको थियो।
डिजिटल रेमिट्यान्सको प्रवर्द्धन तथा रेमिट्यान्स गर्दा औपचारिक माध्यमको प्रयोगसम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरी आयोजना गरिएको कम्पनीले जनाएको छ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रबन्ध–निर्देशक हेमराज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरीमा ‘सुरक्षित रेमिट्यान्स, सुरक्षित भविष्य’, ‘रेमिट्यान्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौँ’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका चार सयभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो। प्रभातफेरीमा चर्चित कलाकार तथा आइएमईका ब्रान्ड एम्बेसडर दीपकाराज गिरी र दीपाश्री निरौला पनि सहभागी थिए।
सो अवसरमा अध्यक्ष ढकालले आइएमईलाई सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनी बनाउन महत्वपूर्ण योगदान गर्ने सम्पूर्ण सेवाग्राही, नियामक निकाय तथा कर्मचारीहरूलाई कृतज्ञता व्यक्त गरे।