अनियमिततामा दोषी ठहरिए माओवादीकै नेतालाई पनि कारबाही गर्छु : गृहमन्त्री श्रेष्ठ

शनिबार, २० जेठ, २०८०
डिजिटल संस्करण

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन्। शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीमाथि कारबाही हुने बताए।

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रूपमा जुनसुकै पार्टीको नेता भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने प्रस्ट पारे। उनले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र)का नेताहरू नै अनियमिततामा परे कारबाही गर्न पछि नहट्ने बताए।

‘कुन पार्टीको को पर्छ मलाई थाहा छैन। आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टी माओवादीको कोही पर्ला। भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला, त्यो छुट दिइनेछैन। त्यसरी नयाँ ढंगले काम गर्दै छौँ। सबैको सहयोग चाहिएको छ। हामीले संस्थागत र प्रणालीगत रूपमा काम गर्न जरुरी छ,’ उनले भने, ‘खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु।’

उपप्रधानमन्त्री श्रेष्ठले आफू सयौँपटक चुनाव हार्न तयार रहेको, तर निष्पक्षता र संवैधानिक मूल्यमान्यता बिर्सिन नसक्ने जिकिर गरे।

सुझावित समाचार