पर्साको पकाहामैनपुर गाउँपालिका कार्यालयपरिसरमा निर्माणाधीन शौचालयको पर्खाल स्थानीय युवाले भत्काएका छन्। चालू आर्थिक वर्ष सकिनै लाग्दा बनाउन सुरु गरिएको शौचालयमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीय युवाले पर्खाल भत्काएका हुन्।
मंगलबार अपराह्न २ बजेतिर गाउँपालिका कार्यालय पुगेर उक्त विषयमा कर्मचारीको ध्यानाकर्षण गराउँदै पर्खाल भत्काएको स्थानीय राकेश यादवले बताए। गाउँपालिका कार्यालयमा तीनवटा शौचालय हुँदाहुँदै नयाँ शौचालय बनाइएको र त्यसमा पनि कमसल सामग्री प्रयोग भएको उनको दाबी छ।
गाउँपालिका कार्यालयमा शौचालय हुँदाहुँदै आर्थिक वर्षको अन्त्यमा १० लाखको लागतमा बजेट सक्न शौचालन बनाउन थालिएको स्थानीयको आरोप छ। गाउँपालिकाका योजना शाखा प्रमुख सुधांशुशेखर प्रसादले अब उक्त शौचालयमा सामग्री परिवर्तन गरी गुणस्तरीय सामग्री प्रयोग गरिने बताए।