काठमाडौं भ्यु टावरमा १२ देखि १४ तला थप्ने तयारी

आइतबार, १४ जेठ, २०८०
डिजिटल संस्करण
काठमाडौं भ्यु टावरमा १२ देखि १४ तला थप्ने तयारी

पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यु टावर । फाइल तस्बिर/नयाँ पत्रिका

निर्माणाधीन काठमाडौं दृश्यावलोकन स्तम्भ (भ्यु टावर)मा १२ देखि १४ तला थप्ने तयारी भएको छ । साबिक पुरानो बसपार्कमा रहेको टावरको १२ तला सम्पन्न भइसकेको छ । १२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसले अध्ययन गरी काठमाडौं महानगरलाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनअनुसार निर्माण मापदण्डअनुसार नै काम भएको र अझै तला थप्न सकिने जनाएकाले कामपाको प्राविधिक टोलीले उक्त प्रतिवेदनको अध्ययन गरी तला थपका लागि अनुमति दिने तयारी गरेको छ । 

०७२ सालको भूकम्पअघि उक्त टावर २९ तलाको बनाउने तयारी थियो । भूकम्पपछि १२ तलामा सीमित गरिएको थियो । अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाको प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि कति तला थप्नेबारे यकिन हुनेछ । 

टावर निर्माण गरिरहेको कम्पनीले तला थपका लागि कामपालाई निवेदन दिनुपर्छ । सोहीअनुसार कामपाले कानुनी प्रक्रिया पूरा गरी तला थपका लागि नक्सा स्वीकृत गर्नेछ । प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो, भूकम्प गएसँगै १२ तला बनाउने भन्दै सोहीअनुसार निर्माण अघि बढाइएको हो । ‘हालसम्म निर्माण भएको संरचना कस्तो छ, निर्माण सामग्री कस्तो प्रयोग गरिएको छ, तला थप्न मिल्छ कि मिल्दैनजस्ता विषयबारे पुल्चोक क्याम्पसले अभ्ययन गरेहो हो,’ काफ्लेले भने । 

टावर निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले ०७३ साउनदेखि सुरु गरेको हो । टावर निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २२ फागुन ०७१ मा सम्झौता भएको थियो । सम्झौताअनुसार पाँच वर्षभित्र कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्नेछ । टावरका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त टावर नेपाली कला संस्कृति झल्किने किसिमको हुने उल्लेख छ । 

कुल क्षेत्रफलको ४० प्रतिशत भूभागमा टावर बन्नेछ भने ६० प्रतिशत भाग खाली हुनेछ । ६० प्रतिशत जग्गामा बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ । टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा चार सयवटा सवारीसाधन अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ । टावरमा अत्याधुनिक सिनेमा हल, बैंक तथा वित्तीय संस्था, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुनेछन् ।

वैशाखदेखि पार्किङ खुला
निर्माणाधीन भ्यु टावरको बेसमेन्ट (भूमिगत क्षेत्र)मा गत २२ वैशाखदेखि निजी सवारीसाधन पार्किङका लागि खुलेको छ । चारपांग्रे साना सवारीसाधन र दुईपांग्रे सवारीसाधन उक्त स्थानमा राख्ने गरिएको छ । सुरुवाती समयमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि केही दिनबाट थप व्यवस्थापनसहित शुल्क लिएर पार्किङको व्यवस्थापन मिलाइने बताइएको छ । प्रमुख काफ्लेका अनुसार चार सयवटा साना सवारीसाधन र एक हजारवटा मोटरसाइकल अट्ने पार्किङ गत २२ वैशाखदेखि नै सञ्चालनमा आएको हो । टावर निर्माणको साउन ०७२ बाट बसपार्कलाई खुलामञ्चमा स्थानान्तरण गरिएको थियो ।

सुझावित समाचार