कोसीटप्पु, सौराहालगायत तराईमा धेरै स्थान छन्, जहाँ प्रकृतिको सामीप्यमा रहेर जनावरहरूलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज त्यस्तै एक स्थान हो । तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो, बर्दिया । यहाँ मौसम खुलेको समयमा जिपमा बसेर जंगल सफारी गर्नु वा पैदल हिँड्नुको मज्जा नै बेग्लै छ ।
तर, पैदल हिँड्दा जंगली जनावरदेखि सतर्क रहन भने आवश्यक छ । निकुञ्ज घुम्न आउनेहरू प्रायः स्थानीय गाइडसँगै पैदल घुम्ने गर्छन् । उनीहरूलाई जनावरबाट बच्नका लागि कस्तो सावधानी अपनाउने भन्ने विषयमा स्थानीय गाइडले प्रशिक्षण दिएर मात्रै यात्रा सुरु गराउँछन् । यही क्षेत्र हुँदै कर्णाली नदी बग्छ । कर्णालीमा र्याफ्टिङ गर्न पनि ठूलो संख्यामा पर्यटक आउने गरेका छन् । यस निकुञ्जमा एकसिंगे गैँडा, बाघ, चितुवा, घडियाल गोही र मगर गोहीलगायत अवलोकन गर्न सकिन्छ ।
निकुञ्जभित्र नै बबई उपत्यका पनि पर्छ, जुन आकर्षक ठाउँ पनि हो । बबई उपत्यका हात्ती हेर्नका लागि विशेष ठाउँ हो । बर्दिया निकुञ्जआसपास धेरै गाउँ छन् । त्यहाँ थारू समुदायको राम्रो बसोवास छ । थारू समुदायले चलाएको होमस्टेमा अर्गानिक परिकारहरू चाख्दै उनीहरूको संस्कृति पनि नियाल्न सकिन्छ ।
काठमाडौंबाट बर्दिया घुमेर फर्कनका लागि कम्तीमा तीन दिन छुट्याउनुपर्ने हुन्छ । काठमाडौंबाट नेपालगन्जसम्म हवाईजहाजमा जाने र त्यहाँबाट झन्डै दुई घन्टाको सडकयात्रापछि बर्दिया पुग्न सकिन्छ । काठमाडौंबाट सडकयात्रा गरेर बर्दिया पुग्न झन्डै १५ घन्टा लाग्छ । त्यसैले स्थलमार्ग हुँदै बर्दिया घुम्न चाहनेहरूले कम्तीमा चार दिन छुट्याउनु राम्रो हुन्छ ।