आफैँ रेकर्ड राख्दै, आफैँ तोड्दै
विश्वकीर्तिमानी आरोही कामिरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमेका छन् । वरिष्ठ गाइडका रूपमा कार्यरत कामिरिताले सेभेन समिट ट्रेक्सको नेतृत्व गर्दै सगरमाथा आरोहण गरेका हुन् ।
उनले बुधबार बिहान ८ः३० बजे सफलतापूर्वक सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ । सगरमाथाको शिखर चुमेसँगै उनले आफ्नै ७ मे २०२२ को रेकर्ड तोडेका छन् । यसअघि २६औँ पटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि कामिरिताकै नाममा थियो ।
उनको नाममा आठ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा धेरैपटक आरोहण गरेको रेकर्ड पनि छ । उनले सगरमाथासहित केटु, चो ओयु, ल्होत्से, मनास्लुलगायत विश्वका अग्ला शिखरमा ३९ पटक आरोहण गरिसकेको बताइन्छ ।
२ जनवरी १९७० मा जन्मिएका उनी उमेरले ५३ पुगिसके, तर हिमाल चढ्ने हुटहुटी उस्तै छ । सोलुखुम्बुको थामेमा जन्मिएका उनी त्यतै हुर्किए । सानैदेखि आरोहणमा गहिरो रुचि देखाउँदै आएका उनले आफ्नो जीवन नै पर्वतारोहणमा समर्पित गरेका छन् । त्यसैले सर्वोच्च शिखरको पर्याय बन्न पुगे उनी ।
कामिरिताले पहिलोपटक १३ मे १९९४ मा सगरमाथाको चुचुरो चुम्दा २४ वर्षका थिए । उनले अहिलेसम्म सयौँ स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको चुचुरोमा पुर्याएका छन् । कुनै आरोहणमा २०–२५ जना आरोही हुन्छन् भने कहिले ५–६ जना मात्रै ।
सन् १९९२ मा सगरमाथा आरोहण अभियानमा सपोर्ट स्टाफ सदस्यका रूपमा उनको पर्वतारोहण यात्रा सुरु भएको सेभन समिट ट्रेक्सले जनाएको छ । त्यसयता कामिरिताले निर्भयसाथ धेरैपटक धेरैवटा गगनचुम्बी शिखर आरोहण गर्दै–गराउँदै आइरहेका छन् ।
कामिरिताले आइसफल डाक्टरका रूपमा सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर बाटो बनाउने (रोप फिक्सिङ)को काम पनि गर्दै आइरहेका छन् । रोप फिक्सिङको नेतृत्व गर्दा उनले एउटै याममा दुईपटकसम्म चुचुरो चुमेको रेकर्ड छ । कतिपय आरोहीले अनुरोध गरेपछि उनी दोहोर्याएर शिखर पुगेका पनि छन् । ‘म चिनियाँलाई शिखरमा पुर्याएर झरिरहेको थिएँ, इन्डियन पुलिसको टिमले मलाई अनुरोध गर्यो कि तिमीले नै हामीलाई चुचुरोमा पुर्याउनुपर्छ,’ सन् २०१९ को आरोहण स्मरण गर्दै कामिरिताले केही वर्षअघि एक भेटमा भनेका थिए, ‘त्यतिवेला सेभेन समिट ट्रेक्सका सगरमाथा चढ्ने चारवटा ग्रुप थिए, म लिडर गाइड हुनाले चारवटै ग्रुप हेर्नुपर्थ्यो, मैले अल्छी नमानी इन्डियन ग्रुपलाई फेरि शिखरमा पुर्याएर फर्किएँ ।’
शेर्पाहरू हिमालका ‘क्याप्टेन’ हुन् । उनलाई पेसाले नै धेरैपटक सर्वोच्च शिखर चढाएर कीर्तिमानी आरोहीका रूपमा स्थापित गरेको हो । उनलाई घरपरिवारले हिमाल आरोहणबाट विश्राम लिन आग्रह गरिरहेका छन् । तर, उनी हिमालबाट टाढा रहनै नसक्ने बताउँछन् । ‘मेरो पेसै हिमाल चढ्ने, किन रोकन्थ्यो र ?’ उनी भन्छन्, ‘फेरि म रेकर्ड राख्न हिमाल चढ्ने पनि होइन, नेपालको हिमाल आरोहणलाई जीवितै राखेर विदेशी पर्यटक भित्र्याउनु छ ।’
हिमाल आरोहण एकदमै जोखिमपूर्ण हुन्छ । अझ गाइडले अत्यन्तै दुःख खेप्नुपर्ने उनको बुझाइ छ । ‘धेरै दुःख गरेर स्वदेशी–विदेशी आरोहीलाई शिखरमा पुर्याउँछौँ, उनीहरूको जीवनमा खुसी भर्ने काम गर्छौँ,’ उनी भन्छन्, ‘आरोही चुचुरोमा पुग्दा खुब खुसी हुन्छन्, उनीहरूको खुसी देख्दा हाम्रो उत्साह झन् बढ्छ । चुचुरोमा पुगेपछि आरोहीले फोटो खिच्छन्, खुसीले चिच्याउँछन् ।’
कामिरिता अनुभवी र कीर्तिमानी आरोही एवं गाइड हुन् । त्यसैले धेरैको चाहना हुन्छ अनुभवी र कीर्तिमानी आरोहीसँग सगरमाथा चुचुरो पुग्ने । ‘जति अनुभवी गाइड हुन्छ, आरोहीमा त्यति धेरै कन्फिडेन्स हुने रहेछ, उनीहरूलाई सजिलै सगरमाथा चढ्ने आत्मविश्वास जाग्छ,’ उनको अनुभव छ, ‘अनुभवी गाइडसँग सगरमाथा चढ्न विदेशी जति पनि खर्च गर्न तयार हुन्छन् ।’
नेपालमा उनीजस्ता विश्व रेकर्ड बनाएका गाइड धेरै छन् । हिमालमा नयाँ–नयाँ रेकर्ड राख्ने र तोड्ने क्रम हरेक सिजनमा जारी रहन्छ । तर, धेरै रेकर्डधारी अहिले आरोहणमा सक्रिय छैनन् । कोही रिटायर्ड भएका छन् भने धेरै विदेश पलायन भए । सरकारको आरोही तथा गाइडलाई हेर्ने नजर राम्रो नभएको उनको गुनासो छ । ‘भविष्य नदेखेपछि यो पेसामा शेर्पाको आकर्षण घट्दो छ, नयाँ पुस्ताले आरोहण गर्नेवाला छैनन्,’ उनी ठोकुवा गर्छन् ।
१६ वर्षीया चिनियाँ युवती शिखरमा
१६ वर्षीया चिनियाँ युवती सुई चो युआनले पनि १ जेठमा सगरमाथाको सफल आरोहण गरेकी छिन् । उनी बिहान ५:४२ बजे सगरमाथाको चुचुरोमा पुगेकी हुन् । नेपाल बिग माउन्टेन ट्राभलले बुधबार पत्रकार सम्मेलन गरी कम उमेरमै सुईले सगरमाथा आरोहण गरेको जनाएको छ । तर, उनी सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने आरोही भने होइनन् । १६ वर्षभन्दा कम उमेरमै पनि सगरमाथा आरोहण गरेको रेकर्ड छ ।
पासाङ दावा २६औँ पटक चुचुरोमा
नेपाली गाइड पासाङ दावा शेर्पाले २६औँ पटक सगरमाथा आरोहण गरे । उनले यसअघि कामिरिता शेर्पाको २६औँ पटक आरोहण गरेको कीर्तिमानी बराबरी गरेका थिए, तर कामिरिताले बुधबार मात्रै २७औँ पटक आरोहण पूरा गरेर नयाँ रेकर्ड कायम गरे ।
पासाङ ल्हामु शेर्पाका श्रीमान् पनि सर्वोच्च शिखरमा
सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला एवं राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले पनि सगरमाथाको आरोहण गरेका छन् । उनी बुधबार बिहान ७ः३४ बजे चुचुरोमा पुगेका हुन् । उनले सगरमाथासहित विश्वका सातै महादेशका सबै अग्ला हिमाल ‘सेभेन समिट’ आरोहण पूरा गरेका छन् । यस्तै, युरोपको माउन्ट ब्लांक, नेपालमा अन्नपूर्ण प्रथम, धौलागिरि र थामसेर्कु हिमालको पनि आरोहण गरिसकेका छन् ।