क्युआर भनेको विशेष प्रकारको बारकोड हो । यसलाई विद्युतीय भुक्तानी उपकरणले स्क्यान गर्दा त्यसमा संग्रह गरिएका विवरणहरू प्राप्त गर्न सकिन्छ । यसमा भुक्तानी प्राप्त गर्ने मर्चेन्टको खाताको विवरण रहेको हुन्छ । हाल राष्ट्र बैंकको निर्देशनानुसार क्युआर कोडमार्फत भुक्तानी गर्दा ग्राहकलाई कुनै प्रकारको शुल्क लाग्दैन ।
यस्तै, विद्युतीय वालेट भन्नाले नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त भुक्तानी सेवाप्रदायकले आफ्ना ग्राहकको नाममा जारी गर्ने विद्युतीय खाता हो । वालेट प्रयोगकर्ताले तोकिएका बैंक तथा वित्तीय संस्था अथवा एजेन्टबाट वालेटमा रकम जम्मा गरी वस्तु तथा सेवा खरिदबापत रकम भुक्तानी गर्न सक्छन् ।
बैंक तथा वित्तीय संस्थामा रहेको भौतिक नगदलाई विद्युतीय माध्यमबाट कारोबार गर्न सक्ने गरी विद्युतीय वालेट, प्रिपेड कार्ड वा अन्य विद्युतीय उपकरणमा जम्मा गरिएको रकमलाई ई–मनी भनिन्छ । ई–मनीलाई भर्चुअल मनी पनि भनिन्छ ।