क्यामिला सान्ड : ‘नरुचाइएकी महिला’देखि बेलायतको रानीसम्म

चार्ल्सले आफ्नी पूर्वप्रेमिका क्यामिलासँगको रोमान्सलाई पुनः ब्युँताए । त्यो सम्बन्धको गहिराइ सन् १९९३ मा सर्वसाधारणका लागि खुलासा भयो ।

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

बेलायतमा १० वर्षसम्म ‘नरुचाइएकी महिला’को रूपमा चित्रित हुँदै राजा चार्ल्सकी द्वितीय श्रीमती क्यामिलाले एक साताअघि बेलायतमा रानीको मुकुट पहिरिइन् । चार्ल्सकी पहिली पत्नी तथा आकर्षक राजकुमारी डायनाको जब सन् १९९७ को अगस्टमा फान्सको पेरिसमा कार दुर्घटनामा मृत्यु भयो, क्यामिला सञ्चार माध्यमको निशानामा परिन् । कतिपयले यो जोडीले कहिल्यै विवाह नगर्ने बताएका थिए । 

क्यामिला सान्डको जन्म सन् १९४७ को १७ जुलाईमा एक सम्पन्न परिवारमा भयो । उनका बुबा सेनाप्रमुख र मदिरा व्यापारी थिए क्यामिला सामाजिक वृत्तमा अगाडि बढिन् जसले उनलाई चार्ल्ससँग सम्पर्कमा ल्यायो । चार्ल्सलाई सन् १९७० को दशकको सुरुमा पोलो मैदानमा भेटिन् । यो जोडीले केही समयका लागि डेटिङ गरे ।

चार्ल्सले विवाह गर्ने सोच बनाएका थिए । तर, यस्तो ठूलो कदम चाल्नु निकै हतार महसुस गरे । तर, चार्ल्सले नौसैनिक क्यारियरमा आफूलाई समर्पित गर्दा क्यामिलाले सन् १९७३ मा घोडचढी अधिकारी तथा ब्रिगेडियर एन्ड्रयु पार्कर बाउल्ससँग विवाह गरिन् । यी दम्पतीका तर्फबाट दुई सन्तान टम र लौरा जन्मिए । सन् १९९५ मा उनीहरूको सम्बन्धविच्छेद भयो । तर, क्यामिला र चार्ल्स आवधिक रूपमा रोमान्समा संलग्न थिए । तिनीहरूको सम्बन्ध सञ्चारमाध्यममा अत्यधिक प्रचारित भएको थियो र यसले विश्वव्यापी चासो बढाएको थियो ।

डायनाको मृत्यु भएको आठ वर्षपछि उनीहरूले विवाह गरेपछि क्यामिला सार्वजनिक रूपमा बढी चिनिन थालिन् । यद्यपि, अझै पनि केहीले उनलाई शाही परिवारको प्रमुख सदस्यका रूपमा, नयाँ राजाले धेरै भरोसा गर्ने व्यक्तिका रूपमा र राष्ट्रकी रानी क्यामिलाका रूपमा चिन्न अनिच्छुक छन् । ‘उनी उनको आत्माको साथी हुन्’, लामो समयदेखि शाही संवाददाता तथा ‘क्विन अफ अवर टाइम्स’का लेखक रोबर्ट हार्डम्यान भन्छन् । चार्ल्सले सन् १९८१ मा २० वर्षीया डायनासँग विवाह गरेका थिए जसले बेलायतलाई मात्र नभई विश्वलाई नै मन्त्रमुग्ध बनायो ।

दुई सन्तान विलियम र ह्यारी जन्मेपछि सम्बन्धमा तिक्तता आयो र उनीहरूले सन् १९९६ मा सम्बन्धविच्छेद गरे ।चार्ल्सले आफ्नी पूर्वप्रेमिका क्यामिलासँगको रोमान्सलाई पुनः ब्युँताए । त्यो सम्बन्धको गहिराइ सन् १९९३ मा सर्वसाधारणका लागि खुलासा भयो जब गोप्य रूपमा रेकर्ड गरिएको कुराकानीको ‘ट्रान्सक्रिप्ट’ अखबारमा प्रकाशित भए । ‘म तिम्रा लागि जे पनि भोग्न सक्छु । त्यो प्रेम हो । त्यो प्रेमको बल हो’ सन् १९९३ मा सार्वजनिक गरिएको टेलिफोन कुराकानीमा क्यामिलाले चाल्र्सलाई भनेकी छिन् ।

 अझै पनि कतिपय मानिस क्यामिलालाई शाही परिवारको प्रमुख सदस्यका रूपमा, नयाँ राजाले धेरै भरोसा गर्ने व्यक्तिका रूपमा र राष्ट्रकी रानीका रूपमा चिन्न अनिच्छुक छन् 

अर्को वर्ष एक टिभी अन्तर्वार्तामा चाल्र्सले क्यामिलासँगको सम्बन्ध पुनः सुरु गरेको स्वीकार गरे । तर, त्यो सम्बन्ध उनको विवाह स्थायी रूपमा टुटेपछि मात्र सुरु भएको चार्ल्सले बताए । जब डायनाले आफ्नो चम्किलो गाउनका साथ सुक्खा हाउस अफ विन्डसरमा ग्ल्यामर ल्याइन्, धेरै बेलायतीहरूले किन चार्ल्सले सामान्यतया स्कार्फ र हरियो वाटरप्रुफ सवारी कोटमा सजिने देशभक्त क्यामिलालाई रुचाउनेछन् भनेर बुझ्न सकेनन् । १० फेब्रुअरी सन् २००५ मा क्यामिला पार्कर बाउल्स र चार्ल्सबीच सोही वर्षको ८ अप्रिलमा विवाह गर्ने घोषणा गरिएको थियो ।

डायनाको मृत्युपछि शोक र क्रोधको सार्वजनिक बहावबीचमा क्यामिलाको कटु आलोचना भयो । तर, पछिल्ला वर्षहरूमा शाही परिवारको कलंकित प्रतिष्ठालाई पुनर्निर्माण गर्ने जिम्मेवारी दिइएका शाही सहयोगीले बिस्तारै क्यामिलालाई थप सार्वजनिक भूमिकामा समाहित गर्न थाले । सार्वजनिक रूपमा सँगै देखापर्नेदेखि विवाह र गत वर्ष रानी एलिजाबेथबाट क्यामिलालाई रानी कन्सोर्टको उपाधिसँगै चार्ल्स र क्यामिलाको सफलता पूरा भयो । 

सुझावित समाचार