चाबहिल–साँखु र नख्खु–चुनीखेल सडक आठ वर्षमा पनि बनेनन्

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण
चाबहिल–साँखु र नख्खु–चुनीखेल सडक आठ वर्षमा पनि बनेनन्

निर्माणाधीन चाबहिल–जोरपाटी–साँखु सडकखण्ड । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

संघीय राजधानीकै सडक वर्षौँदेखि अलपत्र

सरकारकै लापरबाहीले वर्षौँदेखि अलपत्र र अस्तव्यस्त बनेका ठूला सडक हेर्न बाहिरी जिल्ला जानै पर्दैन । संघीय राजधानीमा रहेका केही सडकको दुरावस्थाले सरकारी मानसिकतालाई प्रस्ट पार्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च ओहोदाका व्यक्ति दिनहुँ ओहोरदोहोर गर्ने यहाँका सडक वर्षौँदेखि अस्तव्यस्त छन् । हिउँदमा हिलाम्य र बर्खामा धुलाम्य सडकले संघीय राजधानीलाई गिज्याइरहेको मात्र छैन, देशका शासकबाट कसरी शासित हुनुपरिरहेको छ भन्ने पनि पुष्टि गर्छ ।

ललितपुरको नख्खु–भैँसेपाटी–चुनीखेल र काठमाडौंको चाबहिल–साँखु सडकखण्ड उपत्यकाभित्र ठूला सडक आयोजनाभित्र पर्छन् । चौडासहित कालोपत्रे गर्ने गरी ०७२ र ०७३ मा यी सडकको ठेक्का लगाइएको थियो । तर, आठ वर्षदेखि दुवै सडक अलपत्र छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत ठेक्का लगाएर सुरु भएका यी सडक हालसम्म न त चौडा पारेर सकियो, न त कालोपत्र नै भएका छन् । 

कृष्ण ओझा, प्रमुख, काठमाडौं उपत्यका सडक विस्तार आयोजना

चालू आर्थिक वर्षमै सडक विस्तार सक्ने गरी काम गरिरहेका छौँ । चौडा पार्न नसकेको ठाउँमा कालोपत्रे मात्रै गरेर छाड्छौँ । हामीले जुन किमिसबाट ठेक्का लगाएका थियौँ, त्यसअनुसार काम भएन, मुआब्जा र वरिपरिका संरचना हटाउन सकेनौँ । पुरानो चौडाइ जति थियो, त्यस्तैमै कालोपत्रे गरेका छौँ ।

यी सडकसँगै सरकारले ०७१, ०७२ र ०७३ मा उपत्यकाका मुख्य सातवटा सडक विस्तारको योजना सुरु गरेको थियो । अन्य सडक चौडा नपारी कालोपत्रे भए पनि नख्खु–भैँसेपाटी–चुनीखेल र चाबहिल–साँखु सडकखण्ड नबन्दा यात्रुले सधैँ सास्ती र दुःख–कष्ट खेप्दै आएका छन् ।

नख्खु–भैँसेपाटी–चुनीखेल र चाबहिल–साँखु सडकखण्डमा दुई–दुईवटा ठेक्का लगाइएको छ । चाबहिल–साँखु सडक ०७२ चैत, नख्खु–भैँसेपाटी सडक ०७३ र भैँसेपाटी–चुनीखेल सडक ०७४ चैतमा ठेक्का लगाइएको थियो । तर, यी सडक हालसम्म स्तरोन्नति हुन सकेका छैनन् । ठेक्का लगाउँदा सडक चौडा पार्ने र कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो । तर, ठेकेदार कम्पनीले मुआब्जा र अन्य अवरोधका कारण ठेक्काको म्याद सार्दै आएको थियो । चाबहिल–साँखु सडकखण्ड चौडा र कालोपत्रे गर्ने गरी ठेक्का लगाइएको थियो । तर, यो सडक हालसम्म पनि चौडा भएको छैन । कतिपय ठाउँमा ठेकेदार कम्पनीले पहिलेकै क्षेत्रफलमा कालोपत्रे गरेको छ ।

सम्झौताअनुसार दुवै क्षेत्रका सडकको चौडाइ २० मिटर (चार लेन) हो । तर, चौडा पार्न नसकिएपछि १०–१५ मिटर मात्रै कायम गरिएको आयोजनाले जनाएको छ । दुवैतिरका सडकको ठेक्का म्याद तीन वर्ष भए पनि आयोजनाले हालसम्म ठेकेदार कम्पनीलाई म्याद थप गर्दै आएको छ । भैँसेपाटी सडक विस्तारको जिम्मा बज्रगुरु बिरुवा खानी जेभी, पप्पु महालक्ष्मी वल्र्डवाइड जेभी र चाबहिल–साँखु सडकको ठेक्का बज्रगुरु च्याङमिला खानी जेभी र बज्रगुरु बिरुवा खानी जेभीले ठेक्का पाएका थिए । 

३४ करोड सकियो, काम भने सकिएन 
नख्खु–भैँसेपाटी–चुनीखेल सडकखण्ड आशिष बिरुवा सिएम ठेकेदार कम्पनीलाई ५७ करोड लागत अनुमानमा ठेक्का लगाइएको थियो । यो सडकखण्डमा हालसम्म ३४ करोड रुपैयाँ खर्च भएको छ । तर, सडक अझै फराकिलो र कालोपत्रे हुन सकेको छैन । आयोजना प्रमुख कृष्ण ओझा भने चाबहिल–साँखु र नख्खु–भैँसेपाटी क्षेत्रमा ०७७ यता दु्रत गतिमा काम भइरहेको दाबी गर्छन् । ‘हामीले चालू आर्थिक वर्षमा काम सक्ने गरी सडक विस्तारको काम गरिरहेका छौँ,’ उनले भने, ‘चौडा पार्न नसकेको ठाउँमा कालोपत्रे मात्रै गरेर छाड्छौँ ।’ यो सडकको लम्बाइ जम्मा पाँच किमि हो । अब भैँसेपाटीतर्फ दुई किमि सडक चौडा पार्ने र कालोपत्रे गर्ने कार्य बाँकी रहेको आयोजनाले जनाएको छ । 

चौडा नपारी कालोपत्रेमा मात्रै ५५ करोड खर्च 
चाबहिल–साँखु सडकखण्डको लागत ठेक्का अनुमान ८६ करोड हो । हालसम्म यो सडक विस्तारमा ५५ करोड खर्च भइसकेको छ । ६ किमि लम्बाइ रहेको यो सडक चौडा नपारी पाँच किमिमा कालोपत्रे गरिएको छ । अझै एक किमि सडक चौडा र कालोपत्रे गर्न बाँकी छ । मुआब्जा विवाद र अन्य संरचनाका कारण सडक चौडा पार्न नसकिएको आयोजना प्रमुख ओझाले बताए । ‘हामीले जुन किमिसबाट ठेक्का लगाएका थियौँ, त्यसअनुसार काम भएन, किनभने मुआब्जा र वरिपरिका संरचना हटाउन सकेनौँ,’ उनले भने, ‘पुरानो चौडाइ जति थियो, त्यस्तैमै कालोपत्रे गरेका छौँ ।’ चाबहिल–दक्षिण ढोकादेखि साँखुसम्मको ६ किमि सडक विस्तारमा ५१ करोड रुपैयाँ खर्च भएको छ । तर, ठेक्का सम्झौताअनुसार सडक चौडासमेत पारिएको छैन ।

आयोजना प्रमुख ओझा सडक विस्तार ढिलो हुनुमा घरजग्गा नहटाई ठेक्का लगाउनु, रूख काट्न, पाइप सार्न, पोल सार्न नसक्नु र कोभिडको समस्या देखिउँदै पन्छिए । ‘हाम्रा कारणले भन्दा पनि अन्य कारणले सडक आयोजना समयमै सकिएन,’ उनले भने, ‘कोभिडले पनि करिब दुई वर्ष काम गर्न दिएन ।’

०७७ पछि बल्ल काम सुरु
आयोजनाले सडक चौडा पार्नेसहितको योजना भएकाले ०७७ सम्म चाबहिल–साँखु क्षेत्रमा कामै गरेन । ०७७ मा मन्त्रिपरिषद् बैठकले जे–जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा कालोपत्रे गर्ने निर्णय गरेपछि आयोजनाले ठेकेदारलाई काम गर्न ताकेता गरेको थियो । त्यसअघि साइट नै क्लियर नभएको र चौडा पार्न सकिने अवस्था नभएको भन्दै आयोजनाले काम अघि बढाएको थिएन । सडक चौडा पार्न आसपासका संरचना हटाउने र मुआब्जा दिने कार्य सडक विभाग, काठमाडौं महानगर र सडक डिभिजनको हो ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले नै उपत्यकाका केही मुख्य सडक विस्तारको काम सकिसकेको छ । जोरपाटी–सुन्दरीजल (६ किमि), पेप्सीकोला–सल्लाघारी (साढे चार किमि), इमाडोल–लुभु (तीन किमि), कर्मनासा–गोदावरी (चार किमि) र कलंकी–नागढुंगा (नौ किमि)को काम भने ०७८ मै सकिएको छ । यी सडकको पनि गुणस्तरीय कालोपत्रे नहुँदा कतिपय ठाउँमा निर्माण सम्पन्न भएको दुई वर्षमै कालोपत्रे उप्किने र धसिनेलगायत समस्या देखिन थालेका छन् ।

कालोपत्रे सडक खन्दै प्राधिकरण
उपत्यकाका धेरैजसो सडक खाल्डाखुल्डी पर्नु र हिलाम्य तथा धुलाम्य हुनुको कारण नेपाल विद्युत् प्राधिकरण पनि हो । प्राधिकरणले चिल्ला र व्यवस्थित सडक खनेर बिजुलीको तार भूमिगत गरिरहेको छ । जसकारण सडक सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । पछिल्लो समय कलंकी–थानकोट, पेप्सीकोला–सल्लाघारी, जोरपाटी–थलीलगायत मुख्य सडक प्राधिकरणले खनेको छ । तार भूमिगत गर्न जथाभावी खन्दा सडक अस्तव्यस्त बनेको छ ।

त्यस्तै, नख्खु–भैँसेपाटी क्षेत्रमा पनि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले खनेर अस्तव्यस्त पारेको छ । त्यसै त खाल्डाखुल्डी सडक प्राधिकरणले साइड–साइडमा खन्दा सडक ओहोरदोहोरमा सास्ती पुगेको छ । 

निर्माण भइसकेका सडकको मर्मत–सम्भार छैन
उपत्यकाका अधिकांश सडक मर्मत–सम्भार गर्ने जिम्मा काठमाडौं महानगर र सडक डिभिजन कार्यालयको हो । आयोजना, सडक विभागलगायत निकायले सडक निर्माणकार्य सकेपछि त्यसको रेखदेख र मर्मत गर्न यी दुई निकायलाई जिम्मा दिन्छन् । तर, यी निकायले उपत्यकाका सडक मर्मत–सम्भार भने गरेका छैनन् । जसकारण मुख्य सडकका ठाउँ–ठाउँमा खाल्डाखुल्डी भेटिन्छन् । ‘हामीले काम सकिएपछि डिभिजनलाई हस्तान्तरण गर्छौँ, काम सकिएपछि मर्मत–सम्भार र रेखदेख गर्ने जिम्मा उहाँहरूको हो,’ ओझाले भने, ‘तर, उहाँहरूले त्यसलाई बेवास्ता गर्नुभएको छ ।’ पछिल्लो समय टेकु, कालीमाटी, लैनचौर–महाराजगन्ज, करिडोर सडकहरू ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । 

See More On

सुझावित समाचार