साउदी अरेबियाद्वारा मेसीलाई लोभलाग्दो प्रस्ताव

अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई साउदी अरेबियाले आठ सय ८७ मिलियन पाउन्डको प्रस्ताव राखेको छ

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण

साउदी अरेबियाले सातपटकका बालोन डिअर विजेता लियोनल मेसीलाई दुई वर्षका लागि आठ सय ८७ मिलियन पाउन्डको लोभलाग्दो प्रस्ताव राखेको छ । विश्वको प्रिमियर लिगमा साउदी अरेबियाको लिग ५८औँ स्थानमा रहेको छ । साउदी अरेयिबासँग सम्झौता हुँदा मेसी विश्वकीर्तिमानी रकममा स्थानान्तरण हुनेछन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग यसै जुनमा मेसीको सम्झौता समाप्त हुँदै छ । 

सन् २०२१ मा मेसी र पिएसजीबीच दुई वर्षका लागि सम्झौता भएको थियो । मेसीले पिएसजीसँग सम्झौता नगर्ने सम्भावना रहेको बेलायती एजेन्सीहरूले जनाएका छन् । साउदी अरेबियाले मेसीसँग सम्झौता गर्दै विश्व फुटबललाई आफ्नोतिर ध्यानाकर्षण गर्ने तयारी गरेको जनाएको छ । गत वर्ष साउदी अरेबियाको अल नासेरले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको थियो । 

साउदी अरेबियाले मेसी र रोनाल्डोलाई एकै लिगमा प्रतिस्पर्धाको योजना सफल बनाउन कसैले कल्पना नगरेको रकम प्रस्ताव गरेको बेलायती एजेन्सीले दाबी गरेको छ । साउदी क्लब अल हिलालले मेसीका एजेन्ट तथा बुबा जर्जसँग कुराकानी गरेको छ । बुबा जर्जका अनुसार मेसी विश्वकीर्तिमानी सम्झौता रकमप्रति आकर्षित भएका छन् । यद्यपि, मेसीकी श्रीमतीले भने युरोपियन लिगमा खेल्न आफ्ना श्रीमानलाई सल्लाह दिएकी छिन् । 

सन् २०२४ मा कोपा अमेरिका र सन् २०२६ मा विश्वकप फुटबल प्रतियोगिता हुँदै छन् । यी दुवै प्रतियोगिता अर्जेन्टिनाको सहभागिताका लागि मेसीको भूमिमा अहं रहेको देखिन्छ । फिटनेस राम्रो बनाउन पनि मेसी युरोपियन लिगमै आबद्ध हुनुपर्ने उनकी श्रीमतीको धारणा रहेको छ । करिअरको उत्तराद्र्धमा पुगेका मेसीले बाँकी दिनमा राम्रो प्रस्ताव आउने क्लबमै आबद्ध हुने इच्छा देखाएका हुन् । यस्तो अवस्थामा साउदी अरेबियाको प्रस्तावप्रति उनी लोभिएको एजेन्सीको भनाइ छ । 

सुझावित समाचार